२० गतेभित्र कारागार फर्कन अल्टिमेटम

– प्रशासन र कारागारले एकैपटक दिए चेतावनी
लोकखबर
२०८२ आश्विन १७, शुक्रबार २२:१७

बिदुर-फरार कैदीबन्दीलाई यहि असोज २० गते सोमवारभित्र कारगार फर्कन जिल्ला प्रशासन कार्यालय र केन्द्रीय कारागार नुवाकोटले एकैपटक आग्रह गरेको छ । कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानवाट फरार भएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म कारागार फर्कन आग्रह गरेको हो ।

समयसिमाभित्र नफर्किए कानून अनुसार कारवाही गरिने चेतावनी दिइएको छ । स्पष्ट शव्द उल्लेख नगरिएपनि फरार रहेका कतिपय कैदीवन्दीहरु वडादशैं मानेर कारागार फर्कने अपेक्षा गरिएको छ ।  मुख्य पर्व दशैंको रमाइलो, टीका–जमरा, परिवारसँगको माया–ममता तथा विभिन्न भोजनसंगै खुसी साटासाट गर्न समय सकिँदै छ । तर, रमाइलोमा तानिएर घरमै बसेका फरार कैदीबन्दीलाई भने अब आफू बसेको कारागार फर्कने समय नै तोकिएको सरकारी निकायहरूले चेतावनी स्वरुप स्मरण गराएका छन् ।

केन्द्रीय कारागार कार्यालय र जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सूचना जारी गर्दै वडादशैंलगत्तै देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दी तुरुन्तै कारागारमा उपस्थित हुन सूचित गरेका हुन् । गत भदौ २३ र २४ गते आन्दोलनको समयमा विभिन्न कारागारबाट फरार भएका कैदीवन्दीलाई कारागार फर्काउन यस्तो अपिल गरिएको हो ।नुवाकोटमा जिल्ला प्रशासनका तर्फवाट प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र केन्द्रीय कारागार चण्डीपोखरी नुवाकोटका प्रशासकद्वारा एकै पटक जारी सूचनामा फरार कैदीवन्दीहरुलाई यहि असोज २० गतेभित्र आफू बसेको कारागार फर्कन आग्रह गरेका छन् । निर्धारित समयभित्र नफर्किए कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनअनुसार थप सजाय भोग्नुपर्ने जनाइएको छ ।

फरार कैदीबन्दीहरू भेटिए वा लुकाइ–छिपाई उनीहरुलाई राख्नेलाई पनि कानूनी कारबाही हुने चेतावनीसमेत दिइएको छ । प्रहरी प्रशासनले सुराकी दिनेहरूलाई सहयोग गर्न आग्रह गर्दै सम्पूर्ण सुरक्षाकर्मीलाई सक्रिय रहन निर्देशनसमेत दिएको छ । यसरी, दशैंको रमाइलो पारिवारिक माहोल सकिएलगत्तै सरकारी निकायले विभिन्न स्थानवाट फरार कैदीबन्दीलाई कारगार फर्कन चेतावनी दिएको हो । तोकिएको समयसम्म कारगारमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीहरूको खोजी र पक्राउ अभियान सन्चालन गरेसंगै नुवाकोटमा पनि प्रशासन र कारागारले सक्रियता देखाएको हो । गत भदौ महिनामा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीहरूलाई असोज २० गतेभित्र कारागार फर्काउन पहल थालिएको केन्द्रीय कारागार प्रशासन खम्पाक्याम्प, नुवाकोटले जनाएको छ ।

गृहमन्त्री स्तरबाट असोज १० गते गरिएको निर्णयलाई कार्यान्वयनमा ल्याउन कारागार व्यवस्थापन विभागले यहि असोज २० गतेभित्र फरार बन्दीहरूलाई कारागार फर्कन भनेको छ। कारागार फर्केर नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानूनी दायरामा कडा कारबाही गरिने जनाइएको छ ।भागेका कैदीबन्दीहरूको खोजी र पक्राउ अभियानलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकाय, सुरक्षा संस्थाहरू, स्थानीय तह र सञ्चार माध्यमहरूलाई सहकार्य गर्न अनुरोध गरिएको छ ।

अभियानका क्रममा फरार भएका कैदीबन्दीहरू फेला परेमा, तिनीहरूको तत्काल पक्राउ गर्न र नजिकको प्रहरी कार्यालयमा जानकारी दिनसमेते आग्रह गरिएको छ ।
यसका साथै, फरार कैदीबन्दीहरूलाई कारागार फर्काउनका लागि सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेको छ । कैदीबन्दी कतै लुकेर वसेको भए नजिकको कारागार, जिल्ला प्रशासन वा प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ ।फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको छ ।

विभिन्न जिल्लामा ‘जेन–जी’ आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा कारागारहरुमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दीहरु खोजी तथा पक्राउ गर्न कारागार व्यवस्थापन विभागले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । तोडफोड र आगजनी भएका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको थियो । कार्यदल गठनसँगै यहि असोज २० भित्र फिर्ता नभए कानुन अनुसार अतिरिक्त कारबाही हुने गरी प्रक्रिया अघि बढाउने पनि विभागले निर्णय गरेको हो ।

 


सर्वाधिक रुचाइएको