महानायक हमालको पुस्तक विमोचित

– त्रिपक्षिय समिश्रणको ‘युगदेखि युगसम्म’
लोकखबर
२०८२ आश्विन २५, शनिबार २२:२५

विदुर-महानायक राजेश हमालको पुस्तक सार्वजनिक भएको छ । त्रिपक्षिय समिश्रणको पुस्तक ‘युगदेखि युगसम्म’ लोकार्पित भएको छ ।

पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता हमालको उक्त कार्यक्रमका वीच विमोचन गरिएको हो । अभिनेता राजेश हमाल, उनकी धर्मपत्नी मधु भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा पुस्तकको विमोचन गरेका हुन् ।


उक्त पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएको छ । अभिनेता राजेश हमालले भने, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन्, यसलाई हामीले सुरू गरेको तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ, यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।”
अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेका छन् । उनले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दुरीका विषयमा बनाइएको विचार पनि पुस्तकमा रहेको बताए ।

“मैले यो पुस्तकमा हालसम्म गोप्य राखेका कतिपय विषयहरू पनि समावेश गरेको छु । मैले आफूलाई पुर्णरूपमा प्रश्नकर्तालाई सुम्पेको छु, यसमा चलचित्रसँगै राजनीति र मानवीय जीवनका विविध पक्षलाई मेरो बुझाइसँगै व्यक्त गरेको छु, मेरो परिवारको कुरा पनि यसमा ल्याएको छु”–उनले अगाडि भने ।
अभिनेता हमालले आफुलाई यो पुस्तक पढ्दा आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः बाचेको जस्तो महसुस भएकोे बताए । प्रश्नकर्ता यज्ञशले राखेका सम्पूर्ण जिज्ञासाको जवाफ आफूले दिएको उनले जानकारी दिए ।

“मेरो चलचित्र हेर्ने बानी यहाँ काम लाग्यो, मैले जसरी अभिनेता हमाललाई चिनेको थिएँ वा चलचित्रमा हेर्दै आएको थिएँ, त्यसले पुस्तक लेखनका क्रममा सहयोग गरेको छ, मैले राखेका हरेक जिज्ञासालाई उहाँले जवाफ दिनुभएको छ, त्यसकारण यहाँ केही छुटेको भन्ने लागेमा त्यो मैले सोच्न नसकेको वा मैले छुटाएको हुनेछु”, लेखक यज्ञशले भने । दुई सय ९३ पृष्ठ लामो पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

नेपाली सिनेमाका विशिष्ट छाप वनाएका कलाकार राजेश हमालको जीवन, संघर्ष र समाजप्रतिको गहिरो दृष्टिकोण उक्त पुस्तकमा समेटिएको छ । यस पुस्तकमा उनले आफ्नो बाल्यकालदेखि सफलताको यात्रासम्म, प्रेम, परिवार, समय र समाजबारे गहिरा भावनात्मक अनुभूति पस्केका छन् ।
उक्त पुस्तक केवल कलाकारको कथा मात्र होइन, यो एक युगको प्रतिबिम्ब हो, जहाँ जीवन र मानवीय मूल्यहरू भेटिने लेखक यज्ञशको तर्क छ । मूल्य ८४८ रुपैया राखिएको यस पुस्तकमा प्रेरणा, आत्मचिन्तन र नेपालीपनले भरिएको छ ।

 


सर्वाधिक रुचाइएको