मर्मतसंगै स्याफ्रुवेशी–रसुवागढी सडक सन्चालन

पुर्ननिर्माणपछि साना गाडीहरु चल्न सुरु
लोकखवर विशेष संवाददाता
२०८२ आश्विन २८, मंगलवार २०:५८

बिदुर–   नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको स्याफ्रुवेशी–रसुवागढी सडकमार्ग पुनःसन्चालनमा आएको छ । लगातारको वाढी र पहिराका कारण अवरुद्ध भएको उक्त सडक मर्मत तथा पुर्ननिर्माण गरि साना गाडीहरु सन्चालन हुन थालेका छन् ।

त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–विदुर–स्याफ्रुवेशी–रसुवागढी सडकमार्गमा तीन पटक लगातार वाढी र पहिरोले सडक कटान गर्नुका साथै वगाएर आवातजावत नै ठप्प पारेको थियो । उक्त सडकमार्गमा गत असार २४, साउन १४ र यही असोज १८ गतेको अविरल वर्षातका कारण वाढीले सडक क्षतिग्रस्त गरि अवरुद्ध भएको थियो ।

नियमित रुपमा मर्मत तथा पुर्ननिर्माण गरि मंगलवारदेखि साना प्रकारका यातायात सन्चालन भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ । उनका अनुसार केहि दिनमा ठुला मालवाहक गाडी सन्चालन गर्ने उद्धेश्यले क्षति भएको मर्मत तथा पुर्ननिर्माणको कार्य भइरहेको छ ।

वाढी र पहिरोले १५ दशमलव पांच किलोमिटर दुरीको स्याफ्रुवेशी–रसुवागढी सडकखण्डको झण्डै आधा भाग वाढी तथा पहिरोले क्षतिग्रस्त वनाएकोमा मर्मत तथा पुर्ननिर्माण जारी रहेको प्रजिअ पन्थीको भनाई छ । उनका अनुसार ठुला मेशिन र कामदार दैनिक रुपमा सडक मर्मतमा खटिरहेका छन् ।

दैनिक रुपमा २० जना कामदारसहित तीन वटा हेभि इक्युपमेण्ट उक्त सडकमार्गमा मर्मत तथा पुर्ननिर्माणमा खटिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना विदुर नुवाकोटले जनाएको छ । पछिल्लो समय सांढे दुई किलोमिटर सडक ट्रयाक खोलेर कुलुङखोलामा पुलको कार्य भइरहेको मर्मत तथा पुर्ननिर्माणमा खटिएका इन्जिनियर रुपनारायण पौडेलले वताए ।

उनका अनुसार पहिरो मर्मत कार्य सकेर ठुला गाडी सन्चालनको तयारी भइरहेको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक डिभिजन नुवाकोटको डोजरसमेत परिचालित गरिएको थियो । आयोजना, डिभिजन सडक र गोसाइकुण्ड गापाले संयुक्त रुपमा मर्मत गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना प्रमुख कृष्णनाथ ओझाको भनाई छ । सडक फराकिलो वनाउने र कुलुङखोलाको पुलको संरचना वनाउने कार्य भइरहेको छ ।


सर्वाधिक रुचाइएको