गाउंमा महिलाहरुको स्थानीयस्तरमै स्वास्थ्य परिक्षण

– पाठेघरको मुखको क्यान्सरको परिक्षण
लोकखबर
२०८२ आश्विन ३०, बिहीबार २२:५९

बिदुर– महिलाहरुको सुविधाका लागि नुवाकोटको जिलिङमा स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको छ । यसवाट महिलाहरुलाई निकै सुविधा पुगेको छ ।
बेलकोटगढी नगरपालिका ८ जिलिङमा विहीवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परिक्षण सम्पन्न गरिएको हो । स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षणमा ग्रामीण महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त महिला स्वास्थ्य परिक्षण शिविरमा ५१ जना महिलाहरुको स्वास्थ्य परिक्षणका साथै पाठेघरको क्यान्सर परिक्षण गरिएको आयोजक बेलकोटगढी नपा ८ का वडाध्यक्ष सुरेशलाल चित्रकारले जानकारी दिए । उनका अनुसार शिविरमा एक जना चिकित्सकसहित चार जनाको स्वास्थ्य प्राविधिक टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलन गरेको हो ।

उक्त शिविर मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटको समन्वयमा मनमोहन मेमोरियल मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको प्राविधिक सहयोगमा गरिएको सिनियर अहेव अनील न्यौपानेले जानकारी दिए । यसअघि उक्त शिविर लिखु गापा, पन्चकन्या गापा तथा विदुर नपासमेत गरि विभिन्न नौ स्थानमा गरिएको जनाइएको छ ।

शिविरमा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलन गरिएको समन्वयकर्ता मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटले जनाएको छ । यसवाट महिलाहरुको स्वास्थ्य सुरक्षामा प्रभावकारिता वढ्ने लक्ष्य रहेको आयोजकको छ ।


सर्वाधिक रुचाइएको