बेलकोटगढीमा जमरा घर निर्माण

बिदुर- धार्मिक तथा ऐतिहासिक नुवाकोटको बेलकोटगढीको टाकुरोमा जमराघर निर्माण गरिएको छ । सरकार र सेनाको सहकार्यमा उक्त जमराघरको निर्माण गरिएको हो ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिर परिसरमा नवनिर्मित जमराघरको पुनर्निर्माणपछि विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ । उक्त जमराघर संघीय सरकार, स्थानीय सरकार र नेपाली सेनाको लागत साझेदारीमा निर्माण गरिएको हो । नेपालको इतिहासमा बेलकोटगढीको विशेष महत्व रहेको र यसकै नामवाट १० वर्ष अगाडि बेलकोटगढी नपाको नामाकरण गरिएको हो । नुवाकोट टाकुरोवाट गत १८१५ साल असोज १५ गते तेश्रो प्रयासमा नुवाकोट राज्यमाथि विजय प्राप्त गरि नेपाल एकिकरणको विजयी सुरुवात गरेका पृथ्वीनारायण शाहले त्यसपछि वेलकोटका राजा जयन्त रानालाई पराजित गरि नेपाल एकिकरणको विस्तार अभियानमा अर्को खुड्किलो पार गरेका थिए ।
यसर्थ नुवाकोटको मात्रै नभई देशकै ऐतिहासिक स्थल बेलकोटगढीमा रहेको प्रसिद्ध निरन्जना मन्दिर परिसरमा प्रत्येक वर्षको वडादशैको नवरात्री, चैत्रे दशै तथा शनिवार र मंगलवार विशेष रुपमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । सोही स्थानमा दुई सय ५० भन्दा वढि घरपरिवारले सामूहिक रुपमा जमरा राख्दै आएका छन् ।
सोही कार्यको सहजताका लागि २२ लाख रुपैयाको लागतमा नया जमराघर निर्माण गरिएको हो । उक्त जमराघरमा यस वर्षको वडादशैंमा सामूहिक रुपमा जमरा राखिएपनि उद्घाटन भने भएको थिए ।
एक कार्यक्रमका बीच बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङ, सेनाको ६ नम्बर बाहिनीका प्रमुख तथा सहायकरथी सुबासजङ्ग थापाले संयुक्तरुपमा उक्त जमराघरको उद्घाटन गरेका हुन् । पहिलेको जमराघर जीर्ण रहेकोले नयाँ जमराघर पुनर्निर्माणले धार्मिक कार्य तथा ऋतिरिवाजको तथा संस्कृतिको संरक्षण र संवद्र्धनमा टेवा पुग्नुको साथै ऐतिहासिक धरोहरलाई जिवितै राख्न महत्वपूर्ण भूमिका निर्वाह भएको वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले बताए ।
उनले नेपालको संस्कृति, सम्पदा देशकै चिनारी तथा पहिचान भएकाले नपाले यिनीहरुको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रमसमेत सन्चालन गरिरहेको वताए । नवनिर्मित उक्त जमराघर संघीय सरकारको नौ लाख, नेपाली सेनाको नौलाख र स्थानीय तह अर्थात् वेलकोटगढी नपाको चार लाख रुपैयाको लगानीमा निर्माण गरिएको उपमेयर शिवप्रसाद दाहालले वताए ।
सरकारसंग सहकार्य गर्दै सेनाले सञ्चालन गरेको शिघ्र प्रभाव आयोजना अन्तर्गत ऐतिहासिक तथा धार्मिक पहिचान वोकेको निरञ्जना भगवती मन्दिर परिसरमा नयां “जमराघार” र्निर्माण सम्पन्न गरी उक्त “जमराघर” को निरञ्जना भगवती मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेको हो ।
स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने गरी विभिन्न कार्यहरु गर्दै आईरहेकोमा नेपाली सेनाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाहरुलाई संरक्षण तथा संवद्र्धन गर्ने कार्यक्रम अन्र्तगत जमराघर पुर्ननिर्माण गरिएको सेनाको शेर गणका गणपति अशोककुमार मल्लको भनाई छ ।
पृथ्वीनारायण शाहले व्ेलकोटका तत्कालीन जयन्त रानामाथि विजय प्राप्त गरेदेखि नै वडादसैँका बेला सामूहिक रूपमा उक्त स्थानमा जमरा राख्ने परम्परा चलिआएको मन्दिरका पुजारी भोलाप्रकाश पौडेलले बताए । उनका अनुसार उक्त स्थानमा सवै समुदायका घरपरिवारले एकै पटक जमरा राख्दै आएका छन् ।
नवनिर्मित जमराघर उद्घाटन तथाव हस्तान्तरण कार्यक्रममा बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाललगायतका अन्य जनप्रतिनिधि, सेनाका अधिकारी, सरोकारवालासहित स्थानीयबासीवासीको सहभागिता रहेको थियो । निरञ्जना भगवती मन्दिर परिसरमा स्थानीय सयौं घरपरिवारले सामूहिक जमरा राख्ने अभियान रहँदै आएकाले पहिलेको जीर्ण रहेको भवनको पुर्ननिर्माणमा नेपाली सेनाले चासो देखाई मौलिक एंव पुरातात्विक महत्वको संरचना निर्माण गरिएको हो ।
ऐतिहासिक कार्यको संरक्षणमा स्थानीय समुदायबाट भएको माग अनुरुपको जिम्मेवारी पुरा गरिएको जनाइएको छ । यसवाट समुदायमा पहिचान वोकेका धार्मिक एंव साँस्कृतिक सम्पदाको संरक्षण तथा जगेर्ना लगायतका गतिविधिमार्फत सामाजिक र सामूहिक सहकार्य प्रभावकारी र नमूना रहेको स्थानीयवासी तथा प्रसिद्ध निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलको भनाई छ ।