पितृ उद्धारको कामनासहित जालपादेवीमा महाद्विप प्रज्वलन
बिदुर- आफ्ना दिवंगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा हजारौंद्वारा महाद्विप प्रज्वलन गर्दै एकादशी मेला शनिवार सम्पन्न भएको छ । यस वर्षको एकादशी मेलामा गत वर्षको भन्दा धेरै तिर्थालुहरु आएका थिए ।

यस वर्षको हरिवोधनी अर्थात् ठुलो एकादशी मेला भर्न नुवाकोटलगायत विभिन्न स्थानवाट आएका तीर्थालुहरु गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत वढेका छन् । यसवर्षको हरिवोधनी एकादशी मेलाको अवसरमा नुवाकोटको विदुर नगरपालिका ५ देवीघाटको जालपादेवी मन्दिरमा मात्र शुक्रवार राती सातहजार भन्दा वढिले महाद्विप प्रज्वलन गर्नुका साथै आफ्ना दिवंगत पितृको मोक्षको कामना गर्दै द्विप प्रज्वलन गरेको जालपा क्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारले जानकारी दिए ।

उनले मेलामा सहभागी भक्तजनहरुले निरन्तरको झरीकोसमेत परवाह नगरी आफ्नो दिवंगत पितृहरुको सम्झनामा जालपादेवी मन्दिरको किनारा त्रिशूली नदीमा पुगेर द्विप प्रज्वलन गरेको वताए । तीर्थालुहरुले जालपादेवीलगायत विभिन्न स्थानमा पितृमोक्षको कामनासहित हजारांै भक्तजनले शुक्रवार रातभर जाग्राम वसेर महाद्विप प्रज्वलन गर्नुका साथै शनिवार विहान जालपा देवी मन्दिरमा दर्जनौं फूलको डोली टांगेर जालपादेवीमा तुलसीको पुजाआजा गरेपछि सम्पन्न भएको हो ।

मेलामा हजारौंले महाद्विप प्रज्वलन गर्नुका साथै जालपादेवी मन्दिरमा २० वटा फुलको डोरी टांगिएको छ । निरन्तर वर्षातका वावजुद पनि भक्तजनहरु सहभागी भई यसवर्ष जालपादेवी मन्दिरमा गत वर्षको भन्दा धेरै फूलको डोरी टांगिएको छ ।

आफ्ना दिवंगत पिताको स्मृतिमा आफु देवीघाटको जालपादेवी मन्दिरमा परिवारसहित आएर द्विप प्रज्वलन गरेको वेलकोटगढी नगरपालिका ८ पांचखलेका चोकराज पुडासैनीले वताए । उनले आफुले मानवीय धार्मिक संस्कारको भावनाले आफ्ना स्व. पिताको स्मृतिमा पुजापाठ गरेकोसमेत वताए । मेलामा गत वर्षको भन्दा यस वर्ष तीर्थालु धेरै आएका थिए ।

एकादशीको अवसरमा जालपादेवीमा पुगेर स्नान, दान र पुजापाठ गरेमा पितृको मोक्ष हुने र जानीनजानी गरिएका पापवाट मुक्ति हुने विस्वासमा भक्तजनहरु आउने गरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।समितिका अनुसार यस वर्ष सर्वसाधारणले जालपादेवी मन्दिरमा राती पितृ मोक्षको कामनासहित हजारौं महाद्विप र एक हजार द्विप प्रज्वलन गरिएको थियो । जालपादेवी मन्दिरमा एकादशीमा गत वर्ष भन्दा यस वर्र्ष महाद्विप वाल्नेहरुको संख्या धेरै वढेको स्थानीयवासीले वताए ।

त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा सदियौं पुरानो प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीका अवरसरमा आफ्ना पितृको उद्धार गर्ने उद्धेश्यले महादीप प्रज्वलन गरेर हजारौंले एकादशी मेला मनाउने गरेको विदुर नगरपालिका–१ ढुंगेका नवराज उप्रेतीले वताए । आफुले परिवारसहित जालपादेवीमै आएर दिवंगत आफ्ना मातापिताको स्मृतिमा वत्ति वालेकोसमेत वताए ।

कार्तिक शुक्ल दशमीको राती आफ्ना दिवंगत पितृको मुक्तिका लागी हजारौं भक्तजनले जालपादेवी मन्दिरमा रातभर जाग्राम वसेर द्विप प्रज्वलन गर्ने गरेको र आफुले फुलको डोली ल्याएको ककनी गापा ७ चतुरालेको केशवप्राद थपलियाले वताए । जालपादेवी सम्पुर्ण दिवंगत पितृहरुको स्मृतिमा पुजापाठ गर्ने स्थलको रुपमा प्रख्यात हुंर्दै गएको छ ।

आफुले दिवंगत आफ्नी माताको स्मृतिमा परिवारसहित आएर नुवाईधुवाई गरि जालपादेवीमा द्विप प्रज्वलन गरेको विदुर १ की भगवति उप्रेतीले वताइन् । रातभर जाग्राम वसेर वालेको द्विपलाई पण्डितद्वारा मन्त्रोच्चरणसहित शनिवार विहान त्रिशूली नदीमा सेलाइएको उप्रेतीले वताइन् । धार्मिक सहिष्णुता र हिन्दु धर्मको आस्थाको सम्मान गर्दै जालपादेवी मन्दिरमा पुजापाठमा सर्वसाधारण पुगेका हुन् । हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्षको कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको पुजाअर्चना गर्दै ठुलो एकादशी मनाउने गरेका छन् ।

बर्षभरी पर्ने २४ एकादशमी मध्ये कार्तिक शुक्ल एकादशी सवैभन्दा ठूलो एकादशी भएको कारण आफ्ना दिवंगत पितृको उद्धारका लागी जालपादेवीमा आएर सर्वसाधारणले महाद्विप प्रज्वलन गर्ने परम्परा अनुसार व्रत वसेर सर्वसाधारण जालपादेवी मन्दिर दर्शनका लागि पुग्ने गरेको पुरोहित अनन्तप्रसाद रिजालको भनाई छ ।

उनका अनुसार जालपादेवी मन्दिर तथा त्रिवेणीमा गए वर्षहरुको जस्तै जिल्लाको विभिन्न स्थानबाट फूलको डोली, छत्रसहित पूजाआजा गरी जालपा मन्दिरबाट त्रिशूली नदी नघ्याएर खड्गभञ्याङमासम्म दर्जनौ तोरण टाङ्ग्ने प्रचलन रहेको छ । आफ्ना दिवंगत मातापिताको स्मृतिमा जालपादेवीमा आएर महाद्विप वालेको पिपलटारका हरिशरण गजुरेलले वताए ।

आफ्ना दिवंगत पितृको मोक्षको प्रार्थना र जीवनभरी गरेका पापलाई तार्ने जनाउदै जालपादेवी मन्दिर र खड्गभञ्याङको फिर्केप वीचमा रहेको त्रिशूली नदीमाथी जालपादेवी मन्दिरवाट दजैनौं फूलको डोली तारिने परपम्रागत र आकर्षक कार्य हेर्न सर्वसाधारणको वाक्लो सहभागिता रहने गरेको छ । मेलामा सहभागि हुन विभिन्न स्थानबाट भक्तजनहरु फूलको डोली, छत्र, तथा मादी लिएर देवीघाटमा जम्मा भएका थिए ।

परिवारसहित आफ्ना दिवंगत पिताको स्मृतिमा जालपादेवी मन्दिरमा पुजाअर्चनासहित महाद्विप वालेको भट्टथोकका सुर्यप्रसाद भट्टले वताए । ठूलो एकादशीको अबसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि विशेष मेला सम्पन्न भएको छ ।

एकादशी मेलाको अवसरमा नुवाकोटको जालपादेवीको साथै तारुकाको तारकेश्वर, पन्चकन्याको कविलास, गेर्खुको वेत्रावति, सुन्दरादेवी, गणेशस्थान, थानसिङ, राउवेशीलगायतका स्थानमा शनिवार एकादशीको विशेष मेला सम्पन्न भएको हो । भाकल गर्ने, पुण्य कमाउन तथा परिवारका सदस्य नभएकाहरुले पूजा गरि रातभर महाद्वीप बालेर बिहान महाद्वीप सेलाउने गरेका छन् ।

एकादशीका अवसरमा व्रत वसेर तुलसीको पुजा गरेर द्वादशी अर्थात शनिवार पुजापाठ पुर्ण हुने परम्परा रहेको छ । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ । नुवाकोटको देवीघाट र गणेशस्थानको माछापोखरीका घाटमा मेला लागेको थियो भने महादेव र देवीका मन्दिर र नारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो ।

नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, राउतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनको भिड लागेको छ । धार्मिक मान्यता अनुसार एकादशीका दिन भगवान विष्णु समुन्द्रबाट उठेर वैकुण्ठधाम जाने जनविश्वास छ ।

विष्णु भगवानको प्रतीकका रुपमा शनिवार तुलसीको मन्दिरलाई सप्तरंगी टिकाले सिंगारेर तुलसीलाई पूजा (विवाह) गर्ने चलन रहिआएको छ । एकादशीमा अन्नबाली भन्दा फलाहार (फलफूल) खाने चलन छ ।


















































