ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण

– विशेष रुपमा स्वास्थ्य उपचार
लोकखबर
२०८२ कार्तिक १६, आईतवार २३:०७

बिदुर-नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार गरिएको छ । वृद्धाश्रममा आश्रितहरुको विशेष रुपमा स्वास्थय परिक्षणसहित उपचार गरिएको हो ।

विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान आश्रित वृद्ध बाआमाहरुको पहिलो पटक मानसिक रोग सम्वन्धि परिक्षण र उपचार गरिएको हो । त्रिशूली अस्पतालका विशेषज्ञ डा. सन्देशराज उपाध्याय र सन्देश पण्डितद्वारा ज्येष्ठ नागरिकहरूको मनोरोग सम्बन्धि परिक्षण र उपचार गरिएको हो ।

यसवाट आश्रममा रहेका ४० जना वृद्ध बाआमालाई स्वास्थ्य उपचारमा सहज भएको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार वृद्ध बाआमाहरुको निरन्तर स्वास्थ्य परिक्षण गरिने प्रतिवद्धता जनाए ।

यसैवीच, उक्त आश्रममा रहेका वृद्ध बाआमाहरुको खानाका लागि आर्थिक सहयोग प्राप्त भएको छ । प्राप्त आर्थिक सहयोगवाट खाद्यान्न खरिद गरिएको छ ।

पन्चकन्या गाउंपालिका १ का वैकुण्ठ मिश्रले आफ्नी आमा हरिप्रिया मिश्रको पुण्यतिथिको सन्दर्भमा आइतवार देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर खाद्यान्नका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् । मिश्रले प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई नगद १० हजार एकसय रुपैया हस्तान्तरण गरेका हुन् ।

उक्त रकमवाट वृद्ध बाआमाहरुको दैनिक खानाका लागि खाद्यान्न खरिद गरिएको छ ।


सर्वाधिक रुचाइएको