प्रधानको टोलीले दिए रेडएमएक्स क्यामेरा
बिदुर– एक जना अनुभवी तथा चर्चित छायाकारको टोलीले आफुले प्रयोग गरेको क्यामेरा चलचित्र विकास वोर्डलाई प्रदान गरेका छन् । उक्त क्यामेरा वोर्डले सन्चालन गरेको संग्रहालयमा राखिएको छ ।
नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षित गर्ने अभियानमा बरिष्ठ छायाकार पुरुषोत्तम प्रधानसहितकोृ टोलीले सोमवार बोर्डको चलचित्र संग्रहालयका लागि “रेडएमएक्स“ क्यामेरा प्रदान गरेका हुन् । उक्त क्यामेराले “छ एकान छ“, “अझैपनि“ र “मायाजबार“लगायतका चलचित्रको छायाङ्कन गरिएको थियो ।

१६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छायाकार पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन् । क्यामेरा बोर्डका अध्यक्ष डिसीलगायतले क्यामेरा संग्रहालयका लागि ग्रहण गरेका हुन् ।
चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि प्रधानसहितको टोलीले वोर्डका अध्यक्ष दिनेश डिसीलाई अत्याधुनिक रेडएमएक्स क्यामेरा हस्तान्तरण गरेको हो । नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तिव्र पारेको छ ।

उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा उक्त सहयोग महत्वपूर्ण रुपमा थपिएको बताए । “चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,” उनले बताए ।
संग्राहलयमार्फत नेपाली चलचित्रका पहिले प्रयोगल गरिएका क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ । उक्त क्यामेराबाट सफल नेपाली चलचित्रहरु छायांकन गरिएको थियो ।

क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन चलचित्र संग्रहालयका लागि सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए । दाङ स्थायी घर भई हाल राजधानीमा चलचित्र व्यवसाय गर्दै आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ ।
सिनेफोकस अत्याधुनिक लाईट तथा उपकरणमा विशेष मानिन्छ । “चलचित्र क्षेत्र हाम्रो पहिचान हो, यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो,” उनले अगाडि बताए ।













































