स्वास्थ्य सूचकहरुमा तीन पालिका सम्मानित
बिदुर- विभिन्न स्वास्थ्य सूचकहरुमा नुवाकोटका स्थानीय तहहरुको मुल्यांकन गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थय सूचकहरुमा गरिएको कार्य सम्पादन मुल्यांकनका आधारमा छनौट गरि तीन पालिका सम्मानित भएका हुन् । वितेको आव २०८१/०८२ मा गरिएका विभिन्न स्वास्थ्य सूचक, कार्य सम्पादन तथा प्रस्तुतिकरण मूल्यांकनका आधारमा १२ स्थानीय तहहरुको स्वास्थ्य कार्यको मुल्यांकन गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमा विदुर नगरपालिका प्रथम, दुप्चेश्वर गापा द्वितिय र पन्चकन्या गापा तृतीय भएको छ ।

जनस्वास्थ्य कार्यालय नुवाकोटद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा उत्कृष्ट घोषित तीन पालिकालाई सम्मानित गरिएको हो । कार्यालयले खोेप, पोषण, परिवार योजना, राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम, औलो, कालाजार, डेंगी, आमा सुरक्षालगायत स्वास्थ्य सुचकहरुको मुल्यांकन गरि उक्त छनौटसहित स्थानीय तहको स्वास्थ्य शाखाहरुलाई सम्मानित गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारी, त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामालगायतका सम्वन्धित स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुलाई सम्मानित गरेका हुन् ।

स्वास्थ्यका विभिन्न सूचकहरुमा सफल हुनुमा स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्य संस्था, विद्यालय नर्स, तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको कार्य सम्पादन प्रभावकारिता भएको देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद रिजालले वताए । कार्यालयले सम्वन्धित स्थानीय तहहरुका कर्मचारीहरुको निरन्तर मेहनत र समर्पणको निरन्तरताको प्रशंसा गरेको छ । सम्मानित गर्दै प्रमुख अतिथी तथा जिसस प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले स्वास्थय सेवाको प्रभावकारिताको आवस्यतकता औल्याए । उनले स्वास्थ्य संस्था व्यवस्थापन समिति पदाधिकारीहरू तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको कार्यप्रति प्रशंसा व्यक्त गरे ।
सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइले आगामी दिनमा स्वास्थ्य सेवामा कमृचारी तथा स्वास्थयकर्मीहरुको निरन्तर सुधार र उत्कृष्टताको नमूना कायम राख्नुपर्ने वताए । स्थानीय तहहरुूबाट सम्पादित स्वास्थ्य सेवाका विभिन्न सुचकहरु तथा प्रस्तुतिकरण मूल्याङ्कनको आधारमा अन्य पालिका पनि राम्रो रहेको यद्यपि, नुवाकोटका १२ वटै स्थानीय तहहरुमध्ये अग्रस्थानमा रहेका तीन स्थानीय तहहरुलाई सम्मानित गरिएको जनस्वास्थय कार्यालयका अधिकृत अमृत महर्जनको भनाई छ ।

नुवाकोटका १२ स्थानीय तहहरूले सम्पादन गरेका स्वास्थ्य सेवा गतिविधि, प्राप्त उपलब्धि तथा प्रस्तुतीकरण क्षमताका सूचकका आधारमा गरिएको मूल्यांकनमा विदुर नपाले ७० दशमलव ७८ प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको उनले बताए ।
स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता बिदुर नगरवासीका लागि गर्वको विषय भएको विदुर नपाका मेयर राजन श्रेष्ठले बताए । सो उपलब्धिले विदुर नपाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, समन्वय, सेवा विस्तार तथा व्यवस्थापन क्षमताको प्रभावकारितालाई स्पष्ट रूपमा प्रमाणित गरेको उनले बताए ।

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा दुप्चेश्वर गापा (६७ दशमलव १० प्रतिशत) दोस्रो र पन्चकन्या गापा (६६ दशमलव ४० प्रतिशत) तेस्रो भएको मुल्यांकन समितिका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।












































