क्याम्पस सभामा विद्यार्थीहरु दिक्षित
बिदुर– स्नातकोत्तर तहसम्म पठनपाठन भइरहेको नुवाकोटको वट्टारस्थित नुवाकोट आदर्श वहुमुखि क्याम्पसको ११ औं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभामा विद्यार्थीहरुलाई दिक्षित गरिएको छ ।

२०४२ सालमा स्थापित सो क्याम्पसको ११ औं क्याम्पस सभाको शनिवार प्रमुख अतिथि तथा बागमति प्रदेश युवा तथा खेलकुदमन्त्री उर्मिला केसीनेपालले उद्घाटन गरिन् । उनले नेपालको शिक्षा पद्धतीमा सुधार भइरहेको वताइन् ।

समय अनुकुल स्वरोजगार तथा सिपमुलक शिक्षामा प्रदेश सरकारले जोड दिइरहेको उनले उल्लेख गरिन् । शिक्षा हासिल गरेर त्यसको नेपालमै सदुपयोग गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरिन् ।

क्याम्पस सभामा व्यवस्थापन संकायतर्फ स्नातकोत्तर उत्तिर्ण गरेका २० जना विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । सभामा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठद्वारा प्रस्तुत वार्षिक आयव्यय विवरण पारित भएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को सांढे पांच करोड र चालु आर्थिक वर्षको कुल ६ करोड रुपैयाको वार्षिक आयव्यव विवरण क्याम्पस सभाले पारित गरेको छ । सभामा कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, क्याम्पस सभा सदस्यहरु मोहनवहादुर खड्का, विन्दा अर्याल, प्रकाश ढुंगानालगायतले शैक्षिक क्षेत्रको विकास र प्रभावकारी शिक्षा योजनाका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।


















































