तीनसय ५० विद्यार्थीलाई न्यानो कपडा

– विद्यार्थीहरु निकै खुसी
लोकखबर
२०८२ मंसिर १५, सोमबार २२:३६

बिदुर– जाडोमा नुवाकोटको वेलकोटको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

बेलकोटगढी नगरपालिका ११ तिगाउंस्थित पञ्चकन्या माविमा सोमवार एकैपटक तीनसय ५० जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो । साथै अध्यापनरत शिक्षक र कार्यरत कर्मचारीहरुलाईसमेत न्यानो पोशाक वितरण गरिएको छ ।

एकैपटक सांढे तीनसय विद्यार्थी र शिक्षक, कर्मचारीहरुलाई जाडोमा न्यानो पोशाक पाएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुमा उत्साह, आत्मीयताहर्ष, हर्षसहित नयाँ चेतना थपिएको विद्यालयले जनाएको छ ।

विद्यालयले न्यानो पोशाक उपलव्ध गराएको दियालो फाउन्डेसनलाई सम्मानित गरेको छ । आगामी दिनहरूमा पनि सामाजिक सेवा, सहयोग र साथलाई निरन्तरता दिइने दियालो फाउन्डेसनका अध्यक्ष नवीनप्रकाश तिवारीले वताए ।

शिक्षाको विकास र परिवर्तनका लागि विद्यालयप्रति निरन्तर बिगतदेखि नै प्रदान हुँदै आएको अमूल्य सहयोगका लागि विद्यालय परिवारले विशेष आभार व्यक्त गरेका छ । विद्यार्थी–हितका लागि गरिएको उक्त कार्यक्रमप्रति प्रतिबद्धता, समझदारी र सद्भाव निकै प्रेरणादायी रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष प्रकाशजङ्ग पाण्डे, निर्वतमान वडाध्यक्ष रामहरि पाण्डे, विद्यालयका अध्यक्ष रबिन्द्र मानन्धर, पूर्व प्रधानाध्यापक राजाराम तिवारीलगायतले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । शिक्षित समुदाय, दातृ संस्था र विद्यालयबीचको सहकार्यवाट शैक्षिक यात्राको शक्ति, प्रेरणा र उज्यालो भविष्यको आधार तयार भएको विद्यालयको भनाई छ ।


सर्वाधिक रुचाइएको