दुई सय जना एचआइभि संक्रमित

– रोकथामका उपाय प्रवद्र्धन जरुरी
लोकखबर
२०८२ मंसिर १८, बिहीबार २१:३१

बिदुर– एचआइभी÷एड्सलाई न्युनीकरणका लागि रोकथामका उपायहरुलाई प्रभावकारी रुपमा सचेतना प्रदान गर्न आवस्यक रहेको नुवाकोटमा आयोजित कार्यक्रममा जोड दिइएको छ । काठमाडौंसंग जोडिएको पहाडि संरचना रहेको नुवाकोटमा पनि एचआइभी संक्रमित रहेका तथ्यांकले देखाएको छ । नुवाकोटमा हालसम्म एकसय ९५ जना एचआईभी÷एड्स संक्रमित औपचारिक रूपमा पहिचान भई नियमित औषधि सेवन गर्दै आएका छन् । उनीहरुलाई नियमित उपचार सेवा तथा परामर्शसमेत दिइरहेको त्रिशूली अस्पतालले जनाएको छ ।

एचआईभी/एड्स संक्रमित न्युनीकरणका लागि सरोकारवाला पक्ष क्रियाशील भई जनचेतना र यसको नियन्त्रणको उपाय प्रभावकारी वनाइनु पर्नेमा जोड दिइएको छ । यसैवीच, त्रिशूली अस्पतालले अवरोधहरू पार गरौं र एड्स प्रतिकार्य रूपान्तरण गरौं भन्ने नाराका साथ ३८ औँ विश्व एड्स दिवस मनाएको छ । अस्पताल परिसरमा द्विप प्रज्वलनसहित अन्र्तक्रिया गरेर उक्त दिवस मनाएको हो । विश्व एड्स दिवसको अवसरमा त्रिशूली अस्पतालमा एचआईभी÷एड्स न्यूनीकरण तथा सचेतनामूलक पहलहरूका सम्वन्धमा छलफल गरिएको हो ।

अस्तालका निमित्त प्रमुख डा. राजेन्द्र लामासहित अस्पतालका चिकित्सक तथा कर्मचारी एवं सर्वसाधारणको सहभागिता रहेको थियो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले नुवाकोटमा एचआईभी÷एड्सको वर्तमान अवस्था, रोकथामका उपायहरू, नियमित सेवा उपलब्धता तथा आगामी रणनीतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले नुवाकोटमा एचआईभी/एड्स नियन्त्रणका लागि अस्पतालले सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको छ । यसको जोखिम नियन्त्रणका कार्यहरुसमेत भइरहेको उनले वताए ।

“नुवाकोटमा एचआईभी÷एड्स न्यूनीकरणका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएका छौँ । पहिचान भइसकेका व्यक्तिहरूलाई नियमित औषधि सेवा उपलब्ध गराउनु र उनीहरूलाई सेवा–सुविधाबाट वञ्चित हुन नदिनु नै हाम्रो प्रमुख लक्ष्य हो,” अस्पतालका निर्देशक डा. लामाले वताए ।

मेडिकल अधिकृत डा. सुदीप कोइरालाले समुदायस्तरमै प्रभावकारी जनचेतना अभिवृद्धि नभएसम्म एड्स नियन्त्रण चुनौतीपूर्ण रहने वताए । “सुरक्षित व्यवहार अपनाउनु, नियमित परीक्षण गरिरहनु र लक्षण देखिएलगत्तै उपचारमा जोडिनु—यी तीनै उपाय एड्स रोकथामका मुख्य आधार रहेको र समुदायमा यसबारे अझै गहिरो सचेतना आवश्यक छ”–डा. कोइरालाले वताए ।

संक्रमितहरूलाई स्वास्थ्य सेवा र औषधि मात्र पर्याप्त हुनुपर्ने, सामाजिक सहयोग, परामर्श र मनोसामाजिक समर्थन पनि उत्तिकै महत्वपूर्ण हुने सहभागीहरुले वताए । आगामी दिनमा समुदाय–आधारित कार्यक्रमलाई सुदृढ बनाइनुपर्नेमा सहभागीहरुको तर्क रहेको छ ।


सर्वाधिक रुचाइएको