गाउंका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सामग्री प्रदान

लोकखवर शिक्षा संवाददाता
२०८२ मंसिर १९, शुक्रबार २३:१४

बिदुर– शैक्षिक तथा खेलकुदका लागि प्रोत्साहनस्वरुप नुवाकोटको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक एंव खेलकुद सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति प्रोत्साहित भएका छन् । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय शिक्षाप्रेमी रामकाजी (स्वर्णिम) थापाको पहलले तारकेश्वर गाउंपालिका ६ भमरास्थित भमरा आधारभूत विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई न्यानो पोशाकका साथै शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

विद्यालयलाई खेलकुदका विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रमकाबीच बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत ६५ जना विद्यार्थीहरुको लागि एक/एक जोर ट्रयाकसुट, कापी, कलम, पेन्सिल, इरेजरसहित पांच प्रकारका शैक्षिक सामग्र तथा अतिरिक्त क्रियाकलापका लागी खेलकुदका चार प्रकारका सामग्रीहरु प्रदान गरिएको हो । विगत देखि नै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय थापा तारकेश्वर गापा ४ का वडासदस्यसमेत हुन् ।

बिद्यालयलाई पांच थान फुटवल, दुई थान भलिवल, पांच थान व्याडमिन्टन सेट र खेल्ने डोरी १० थान शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
शिक्षासेवी थापासहित वडाध्यक्ष धनवहादुर तामाङ, विद्यालयका अधयक्ष गंगावहादुर श्रेष्ठलगायतले न्यानो पोशाक तथा शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन्  । थापाको पहलमा यसअघि पनि तारकेश्वर गापाकै १० वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिसकिएको छ ।

उनले हालसम्म नुवाकोट, लमजुङ र कास्कीका विद्यालयमा शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । हालसम्म कुल पांचसय ५० जना विद्यार्थीहरुलाई थापाकै पहलमा ‘लक्ष्मी सपोर्ट फाउण्डेसन’संगको सहकार्यमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक प्रदान गरिसकिएको छ ।

विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री उपलव्ध गराएका थापा, सहयोगी सँस्था लक्ष्मी सपोर्ट फाउण्डेसनका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले आधुनिक र गुणस्तरिय शिक्षामा जोड दिए । न्यानो कपडा, स्टेशनरी सामग्री तथा खेलकुद सामग्रीहरू वितरण गरिएसंगै शैक्षिक वातावरणमा थप ऊर्जा र उत्साह भरिएको र उक्त कार्यबाट विद्यार्थीहरू निकै खुसी भएका छन् भने उक्त सामग्री वितरणले जाडोयाममा विद्यार्थीलाई कक्षा कोठामा नियमित उपस्थिति र खेलकुदमा सहभागिता बढाउने अपेक्षा लिइएको छ ।


सर्वाधिक रुचाइएको