हर्नामाडीमा खाद्य महोत्सव तयारी
मकवानपुर । मकवानपुरको हेटौंडा १८, हर्नामाडीमा खाद्य महोत्सवको तयारी थालिएको छ । आगामी माघ ११ गतेबाट तीन दिनसम्म ज्योति उच्च माविको प्राङ्गणमा महोत्सव हुने भएको हो ।
परम्परागत स्थानीय पोषीला खाद्य पदार्थहरुको प्रवद्र्धन तथा पौष्टिक आहारका खानेकुरा प्रयोगको विषयमा जानकारी गराउन खाद्य महोत्सवको तयारी गरिएको मध्यमाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।
महोत्सवले जनमानसको खानपानमा परिवर्तन ल्याइ मौलिक खाद्य पदार्थको पौष्टिक महत्व तथा उपभोगबारे जानकारी प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवबाट स्थानीय रुपमा उपलब्ध हुने तर प्रचलनमा कमी भइरहेका पोषिला खाद्य पदार्थहरुको जानकारी गराइने आयोजकले जनाएको छ । महोत्सवमा गरिने प्रचार प्रसार तथा जागरणमुलक कार्यबाट आयातित खाद्य वस्तुहमा कमी गर्दै लोप हुने अवस्थामा रहेका स्थानीय बाली प्रबद्र्घन हुने आयोजकको भनाई छ ।
महोत्सवमा निः शुल्क स्टल राख्ने व्यवस्था मिलाइएको तथा प्रवेश गर्न पनि कुनै शुल्क नलाग्ने भएको छ । स्थानीय रुपमा उत्पादित खाद्य बस्तुलाई एकै थलोमा उपलब्ध गराउदै स्थानीय उत्पादनबारे जानकारी गराउँन आफूहरु सफल हुने आयोजकको दाबी छ । महोत्सवमा ५० भन्दा बढी स्टल रहने जनाइएको छ । महोत्सवमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।