लोकतन्त्रमा ‘लोकखबर’को भूमिका

लोकखबर
२२ पुष २०७५, आईतवार १४:३७

हामी लोकतान्त्रिक गणतन्त्रका नागरिक । लामो समय राज गरेको राजतन्त्र अन्त्य भएर लोकतन्त्रमा चलेको देशका नागंरिक हौं भन्नेमा हामीलाई गर्व छ । शासन व्यवस्था बदलियो पक्कै पनि यो खुशीको विषय हो । तर साशन बदंलियो भने पनि नाममात्र बदलिएको रहेछ भन्ने हामीलाई लागेको छ । राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, गणतन्त्र आयो । गणतन्त्रका लागि सशस्त्र जनयुद्द भयो । जन आन्दोलन भयो । फलस्वरुप हामीले लोकतन्त्र पायौं । तर हामीले पाएंकों लोकतन्त्रमा पनि हामी खुशीले स्वतन्त्र भएर स्वास फेर्न भने पाइरहेको छैनौं । व्यवस्था बदलियो तर हाम्रो अवस्था बदलिएन । राजतन्त्रमा भई आएका कुप्रथा, चालचलन खै परिवर्तन भएको ? राजतन्त्रका बेलामा हुने लुट, भ्रष्ट्राचार खै अन्त्य भएको राजतन्त्रका बेलामा हुने विभिन्न भेदभाव खै अन्त्य भएको ? आज पनि गरिबको भोकमरी खै अन्त्य भएको ? दिनानुदिन बलात्कारका घटना भइरहेका सुनिन्छन्, सरकार भेटियो, न्याय भेटिएन भन्दै सडकमा नारा लगाएको सुनिएकै छ । खोई यो साशन व्यवस्था क्या गज्जब भनेर सर्वसाधारणले ताली पिटेको ? कुनै टोल विकासको होस् वा वडाको अनि कुनै संस्थाको चुनाव कति धेरै भड्किलो । कति धेरै उत्ताउलो । गणतन्त्र आएपछि मुलुकमा भएका निर्वाचनहरु हेरौं त । के हामीले खोजेको लोकतन्त्र यही हो ? सर्वसाधारण नागरिकले जनताको मत नै नपाउने ‘देश’ दलाल, भ्रष्टहरुको चेपुवामा पर्नुपर्ने ? जोसंग शक्ति छ, शासन उसैको हुने व्यवस्था लोकतान्त्रिक व्यवस्था हो र ? होइन भने खै त हामीले गर्व गर्न लायक लोकतन्त्र ?
आम मानिसहरु लोकतान्त्रिक गणतन्त्रको साशनसत्ता हातमा लिएका प्रति सन्तुष्ट छैनन् । उनीहरुको छट्ट्टी छ –के यत्तिका लागि जनता बन्दुक बोकेर जंगल पसे ? के यत्तिका लागि हजारौंले आफ्नो ज्यान बलिदानी दिए ? के यही दिनका लागि आफ्नै घरका दाजुभाई पनि बैरी बन्नु परेको ? विगतका दिन सम्झिदा अहिले लाग्छ,– विगतमा एउटा राजा थिए, अहिले राजैराजा । पहिले खाने त्यही एउटा राजाले अहिले प्रदेश, संघ, सबैतिर राजा । के साँच्चै हामीले देखेको लोकतन्त्रको सपना यही थियो ? अहँ थिएन । हाम्रो लोकतन्त्र साँच्चै जनताका लागि जनताले शासन गर्ने लोकतन्त्र होस् भन्ने हाम्रो चाहाना हो । हामी सब नागरिक यही चाहान्छौं की लोकतन्त्रमा सब नागरिक समान हुनेछन् । हामी चाहान्छौं की लोकतान्त्रिक व्यवस्थामात्र होइन, दुरदराजका नागरिकको अवस्थामा पनि परिवर्तन आओस् । लोकतन्त्रमा आम सर्वसाधारणले सुख, शान्ति अनि समृद्घिको सपना साकार होस् । लोकतन्त्रमा जनता साना, नेता ठूला होइन की जनता ठूला, नेता अभिभावक देशका रक्षक बनुन । तर यहाँ त्यस्तो भइरहेको छैन । जनता पीडामा कष्टमा दिन बिताउँनुपर्ने, नेता कुनै समस्यामा पर्नै नहुने, नेता बडामहाराज जस्तो शैली र ठाँटले बाँच्नुपर्ने सोच देखिरहेका छौं हामी । आम सर्वसाधारण भनेको जहिल्यै तल, भूइमै रहनुपर्ने, नेतालाई सुख सयलै चाहिने ? जनताको प्रतिनिधीले कहिल्यै पनि जनताको सुख, दुःख अनुभूत गर्न नपर्ने ? के यही हो असली लोकतन्त्र ? खास के हो त लोकतन्त्र ? हामी सर्वसाधारण जान्न चाहान्छौं -लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा नेता र जनता समान हुन् की जनता जहिल्यै रुदै हिड्नुपर्ने, नेता जहिल्यै मोजमस्तीमै रम्नुपर्ने ?
हामी लोकतन्त्रमा छौं भने सबैले व्यवहारमै समान हक अधिकार पाउँनुपर्छ । लोकका सबै नागरिकलाई स्वस्थ्य वातावरण, शिप, समृद्घि चाहिन्छ । हुने खाने र भए खाने बिचको खाडल पुर्नका लागि राज्यका तर्फबाट आवश्यक कार्यक्रम चलाइनुपर्छ । शैक्षिक योग्यता हासिल गरेर स्वदेशमा अवसर नपाएपछि वैदेशिक रोजगारीमा भौतारिन बाध्य भएकाहरुलाई स्वदेशमै टिकाउन केही गर्नसक्ने र आर्थिक आर्जन हुने अवसर सिर्जना गराउनुपर्छ । यी काम जनताका प्रतिनिधीले जनताको पक्षमा गर्ने हो । मुलुकमा कानून बनाउने, कार्यान्वयन गर्ने काम वास्तवमा जन प्रतिनिधीले गर्ने हो । तर कानून नियम तोड्ने काम उनैबाट भएपछि त्यस्तासंग मुलुक बनाउने आशा कसरी राख्नु ? तर अब परिवर्तन हुनैपर्छ अहङ्कार । लोकतन्त्रमा कोही सानो अनि ठूलो भन्ने हुदैन । यहाँ हामी कोही मालिक अनि कोही नोकर होइनौं । सर्वसाधारण बिरामी परे सिटामोल पनि नपाउने, नेताको टाउको दुखे राज्यको लाखौं खर्चमा विदेशै दौडिनुपर्ने अवस्था लोकतान्त्रिक शासन गर्छु भन्नेहरुलाई पटक्कै सुहाउदैन । यसैले अब आवश्यक छ लोकतन्त्रको आडमा हुने लुटतन्त्रको अन्त्य । यसका लागि आवश्यक छ निरन्तर खबरदारी । आजको समयमा त्यस्तो खबरदारी सञ्चारक्षेत्रबाट हुँदा प्रभावकारी हुन्छ भन्ने लाग्दछ । मध्यस्थता मिडिया प्रालिले सञ्चालन आरम्भ गरेको ‘लोकखबर डटकम’ अनलाइन पत्रिकाले त्यो खबरदारीको भूमिका निर्वाह गरोस् भन्ने हामी चाहान्छौं । लोकलाई सभ्य बनाउने, लोकबासीलाई आफ्ना अधिकारप्रति सचेत गराउँने र सबै खालका खबर सम्प्रेषण गर्ने कार्यमा ‘लोकखबर’ ले आफूलाई अग्रभागमा राखोस् भन्ने हामी चाहान्छौं । लोकतन्त्रलाई सबल, सुसंस्कृतिक र सभ्य बनाउने अभियानमा ‘लोकखबर’ लागिपरोस् । शुभकामना ।

रामकुमार दानी

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*