बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा गरेको सम्बोधनको पूर्णपाठ !

लोकखबर
१३ जेष्ठ २०७७, मंगलवार ०६:४३

माननीय सभामुख ज्यू एवम् प्रदेश सभाका सदस्यहरु

मुस्लिम समुदायको महान चाड एवं सद्भाव र भाइचाराको महान पर्व ईदुल–फित्र (ईद) को उपलक्षमा यस प्रदेशमा रहनुभएका तथा देश विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यस पर्वले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सदभाव लाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस भन्ने कामना समेत गर्दछु । नेपाल एकीकरण पूर्वदेखि नै नेपालका विभिन्न जाती समुदयाहरुसंग घुलमिल हुँदै र अनेकतामा एकता थप्दै आएको नेपाली मुस्लिम समुदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानको उच्च कदर सहित प्रशंसा गर्दछु ।

आज सम्पुर्ण विश्व नै कोरोना महामारि विरुद्ध जुधिरहेको छ । यसले निम्त्याएको संकटबाट नेपाल पनि अछुतो छैन । संघ, प्रदेश र स्थानिय गरी तिनै तहको सरकार यस महामारि विरुद्धको लडाँईमा केन्द्रीत भईरहेको सन्दर्भमा राष्ट्रियता र सार्वभौमसत्तालाई अक्षुण राख्न नेपालीहरु पुनः उच्चस्तरको एकता कायम गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसै पृष्ठभुमिकावीच आजबाट प्रदेश सभाको छैठौं बजेट अधिवेशन सुरु भएको छ ।

यसक्रममा देशको राष्ट्रियता, सार्वभौम सत्ता एवम् भौगोलिक अखण्डताको रक्षार्थ तथा देश र जनताको हितका लागि भएका अनेकौं आन्दोलनहरुमा सहादत प्राप्त गर्नुभएका सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रदासुमन ब्यक्त गर्दछु । साथै कोरोना महामारिको कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रदाञ्जलि ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्दछु । उपचारकोक्रममा रहनुभएकाहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गर्दछु ।

हिजो आएको हावाहुरी तथा वर्षाको कारण चितवन जिल्लाको आँपटारी–देवघाट सडकमा रोकिराखेको ट्याक्टरमाथि सालको रूख ढल्दा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन । यसक्रममा मृतकजनप्रति हार्दिक श्रदाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्दछु । घाईते चारै जनाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

माननीय सभामुख ज्यू

यतिबेला देश लकडाउनमा छ । २०७६ चैत्र ११ गतेबाट सुरु भएको लकडाउनले हाम्रो दैनिक जीवन ब्यवहारहरुमा असहजता उत्पन्न भएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज, यातायात सहित सम्पुर्ण जनजीवन ठप्प छ । विकसित तथा समृद्ध देशहरुलाई समेत गहिरो असर पारेको यस महामारिलेनेपालमा समेत क्रमश गहिरो संकट नित्याउदैछ ।

यसलाई सामना गर्न बागमति प्रदेश सरकारले अथक प्रयास गर्दै आएको यहाँहरुमा सर्वविदितै छ । यसक्रममा प्रदेश सरकारले स्वास्थ्य सामाग्रीको ब्यवस्थापन, क्वारेण्टाईन तथा आईसोलेशन वार्ड निर्माण, आईसियु बेड निर्माण, सुचना तथा संचारका कार्यहरु, पर्याप्त स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन, आरडिटि तथा पिसिआर टेस्ट, लकडाउनको प्रभावकारिताको अनुगमन, स्थानिय तहलाई सहयोग तथा समन्वय गर्दै कोरोना महामारी सामना गर्न प्रयासरत रहँदै आएको छ ।

यस महामारि विरुद्धको लडाईमा फ्रण्ट लाईनमा बसेर नागरिकको सुरक्षाको लागि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुले निर्वाह गर्नुभएको भुमिकाको प्रशंसनिय छ । साथै, प्रतिपक्षी दल सहित प्रदेशसभाका सम्पुर्ण माननीय सदस्य, स्थानिय तहका जनप्रतिनिधि एवम् संचारकर्मि लगाएतले निर्वाह गर्नुभएको भुमिकाको उच्च प्रशंसा सहित सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।
संघिय सरकारले समयमै घोषणा गरेको लकडाउन तथा तिनै तहका सरकारको सुझबुझपुर्ण एवम् जिम्मेवार पहलकदमीको कारण हालसम्म कोरोना महामारिले ठुलो मानवीय क्षति गर्न सकेको छैन तर लकडाउन भएको २ महिना पुरा भैसक्दा संक्रमण दर भने दिनप्रतिदिन बढ्दो छ । बढ्दो संक्रमण दर संगै महामारिको सामना गर्न थप संवेदनशिल बन्नुपर्ने आवश्यकता देखिएको छ ।

हालसम्म विभिन्न देशहरुमा यस महामारीको विरुद्ध खोपहरुको परिक्षण भएतापनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । यस अवस्थामा एकातिर नागरिकको सुरक्षाको लागि लकडाउनलाई कुनै न कुनैरुपमा जारी राख्नुपर्ने छ भने अर्कोतर्फ अर्थतन्त्रलाई चलाएमान गरी पुनःजीवन प्रदान गर्न आर्थिक गतिविधिहरुलाई अघि बढाउनुपर्ने चुनौति उत्तिकै छ ।
यसतर्फ मध्यनजर गर्दै यस वर्षको नीति तथा कार्यक्रममा सरकारको प्राथमिकताहरु परिवर्तन गरिएको छ । विगतका वर्षमा पुर्वाधार विकासमा जोड दिने गरिएकोमा यस वर्ष कृषि, स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको छ । कृषि मार्फत उत्पादकत्वको वृद्धि तथा रोजगारी श्रृजना गर्न सरकारले लिने नीति उपयोगी हुने विश्वास लिएको छु ।

यसै सन्दर्भमा कोरोना महामारिबाट प्रभावित भई स्वदेश फर्किनुभएका प्रदेशबासी दाजुभाइलाई प्रदेश सरकारले आवश्यक ब्यवस्थापन गर्ने समेत जानकारी गराउदछु ।

माननीय सभामुख ज्यू,

देश कोरोना महामारिको यो लडाँइमा होमिरहेको बेला भारतले नेपालको भुभागभित्र पर्ने लुपुलेक हुँदै मानसरोवर जान एकतर्फिरुपमा बाटो उद्घाटन गरेपश्चात राष्ट्रियताको मुद्धातर्फ आम नेपालीको ध्यानाकर्षण भएको छ ।

विश्वको पुरानो र कहिल्यै कसैको उपनिवेश नबनेको गौरवशाली ईतिहास भएको हाम्रो देशको भुभागमाथि भएको अतिक्रमण कुनै पनि देशभक्त नागरिक र सरकारलाई सह्य हुनै सक्दैन । यस क्रममा नेपाल सरकारले देशको स्वतन्त्रता, सार्वभौमसक्ता तथा भौगोलिक अखण्डताको सुरक्षाको लागि अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरा सहित सम्पुर्ण भुभाग समेटेर नक्सा जारी गरी कुटनीतिक माध्यामबाट अतिक्रमित भुभाग फिर्ता लिने प्रयास सुरु गरेको छ ।

सन् १८१६ को सुगौली सन्धी तथा अन्य तथ्य एवम् प्रमाणहरुको आधारमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत भुभागहरु नेपालको अविछिन्न भुभाग रहँदै आएको भएतापनि विगतमा यथेष्ट ध्यान पुर्याउन नसक्दा भारतले एकतर्फिरुपमा अतिक्रमण गरेका भुभागहरु फिर्ता लिन नेपाल सरकार तथा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिले लिनुभएको पहलकदमी गौरवपुर्ण र ऐतिहासिक छ ।

यसका लागि नेपाल सरकारप्रति हार्दिक आभार एवम् धन्यवाद ब्यक्त गर्दछु । यसक्रममा सक्तारुढ, प्रतिपक्षितथा अन्य राजनीतिक दलहरुको तर्फबाट राष्ट्रियताको सन्दर्भमा प्रकट भएको अद्धितिय एकता तथा नागरिकरुतरबाट प्राप्त समर्थनले नयाँ आशा एवम् विश्वास सिर्जना भएको छ ।

कोरोना महामारिले सिर्जाएको चुनौतिकावीच सिमा समस्यालाई सुझबुझपुर्ण रुपमा सुल्झाउदै “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको बाटोमा देशलाई अघि बढाउन सम्पुर्ण नागरिकहरुको बलियो साथको आवश्यकता पर्छ । निश्चय नै कोरोना महामारिले निम्त्याएको संकटले हाम्रो समृद्धिको यात्रामा ठेस लागेको छ तर यात्रा रोकिएको छैन । रोकिने छैन । मानव सभ्यता यस्ता अनेकौं संकटहरु पार गरेरै यहाँसम्म आईपुगेको हो । हामी नेपालीहरुले ईतिहासमा पटकपटक विषम पस्थितिको सामना गरेका छौं ।

पछिल्लो पटक भुकम्पमा लड्यौं तर धुलो टक्टटक्याउदै उठ्यौं र अघि बढ्यौंं । सबै राजनीतिक दलहरुवीचको समझदारीमा संविद्यान निर्माणको लागि “भुकम्प”लाई अवसरकोरुपमा बदल्न सफल भयौं । तत्पश्चात हामीले नाकाबन्दीको सामना गर्न पर्यो तर यसले हामीलाई आत्मनिर्भर बन्न र विशेष गरी ल्याण्ड लक्डबाट ल्याण्ड लिङक कन्ट्री बन्नेतर्फ अग्रसर गरायो ।

“सानो देश, गरिब देश” भन्ने हिन भावनाबाट माथि उठेर“भुगोल सानो ठुलो हुनसक्छ तर सार्वभौमिकता समान हुन्छ” भन्ने मान्यता स्थापित गरायो । यसप्रकार हामी नेपालीहरुले प्रत्येक चुनौतिहरुलाई अवसरमा बदल्दै आएका छौं ।

यो महामारि विरुद्धको लडाईंमा हामी विजय हुन्छौं । कालिपानी, लिपुलेक, लिम्पियाधुरा सहित सम्पुण भुभाग फिर्ता लिएरै छाड्छौं तर सरकार एकल प्रयासबाट मात्र यो संम्भव छैन । सरकारको तर्फबाट गरिने तयारीले तब मात्र सार्थकता पाउनेछ, जब नागरिकस्तरबाट यसलाई बलियो साथ र समर्थन प्राप्त हुनेछ ।

माननीय सभामुख ज्यू,

संवैधानिक तथा कानुनी प्रबन्धका कारण संकटवीचमा पनि यतिबेला सदन संचालन गर्नुपर्ने छ । तपाथि अब यसलाई सामान्य अवस्थामा जसरी संचालन गर्न सकिने अवस्था छैन । कोरोना महामारिलाई मध्यनजर गर्दै छिटोछरितो रुपमा अब सदन संचालन हुनेछ ।

यस विषम परिस्थितिमा समेत माननीय सदस्यहरुको उत्साहप्रद उपस्थितिले जनताप्रति यहाँहरुको जिम्मेवारीबोध प्रष्ट्र हुन्छ । यस अधिवेशन ब्यवस्थापनका लागि प्रदेशसभा सचिवालय तथा विषम परिस्थितिमा समेत देश र जनताप्रतिको जिम्मेवारीबोधका साथ यहाँ उपस्थित हुनुभएकोमा माननीय सदस्यहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै छैठौं बजेट अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दछु ।

धन्यवाद !

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*