यस्तो छ पत्रकार मनोहर ढकाल हत्याको अन्तरकथा
मकवानपुर। मकवानपुरका पत्रकार मनोहर ढकालको हत्यामा संलग्न पक्राउ परेका छन् । मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराउँदै आरोपित सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी अनमोल पुडासैनीले आफूहरु बसेको ठाउँमा आएर सामान्य विवाद गरेकोले आवेगमा आई पत्रकार ढकालको हत्या गरेको स्वीकार गरे ।
ढकाल हत्यामा संलग्नताको आरोपमा हेटौँडा ११ का १९ वर्षीय अनमोल पुडासैनी, मनहरी गाउँपालिका वडा नंबर १ का प्रवीण वाईवालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, हत्या पछि उनीसँग भएको मोवाईल खरिदकर्ता भीमफेदी ६ का दिनेश थापा, सुनको औठी खरीदकर्ता हेटौँडा २ का नारायणबहादुर सुनारलाई समेत पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले गहन अध्ययन गरी घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले उनी त्यहाँ सही नियतले गएको र बरालिएको केटाहरुलाई सम्झाउन खोज्दा उनीहरुले लुटपाटको नियतले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए ।
घटना यस्तो छ
गत पौष २५ गते साँझ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडाँडामा पत्रकार ढकाल गम्भीर घाइते भएको देखेपछि अमृत वाग्लेले प्रहरीलाई खबर गरे ‘भैरवडाँडा जंगलमा एक अधवैंशे पुरुष गम्भीर घाइते अवस्थामा छ ।’
दिउँसो ५ बजेर १३ मिनेटमा प्रहरीमा सो जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ लाग्यो ।
सूचना पाएको १७ मिनेटपछि अर्थात साढे ५ बजे निरीक्षक थापाको टोली घटनास्थल पुग्छ ।
प्रहरीले घटनास्थल निरीक्षण गर्छ । मुचुल्का उठाउँछ । गम्भीर घाइते भएका व्यक्ति हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका ४२ वर्षीय मनोहर ढकाल भएको पुष्टि हुन्छ ।
ढकाल पत्रकारका साथै शिक्षक पनि हुन् । प्रहरीले तत्कालै ढकाललाई हेटौंडा अस्पताल पठाउँछ । त्यसको ५ मिनेटपछि नै डाक्टरले मृत घोषणा गर्छन् ।
तर, प्रहरीलाई अर्को ठाउँको दुखाइ बन्छ, ‘हत्यारा को हो ?’ किन भयो ढकालको हत्या ?’ निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गरेको आरोप खेपेको प्रहरीले त्यस्तो अवस्था नदोहिरीयोस् भन्दै जुनियर प्रहरीको कमाण्डमा घटनास्थल सुरक्षित राख्छ ।
भोलिपल्ट २६ गते विहान ७ बजे निरीक्षक थापा नेतृत्वको अनुसन्धान टोली पुन घटनास्थल पुग्छ । मुचुल्काको अनुसन्धान गर्छ । र घटनाको विश्लेषण सुरु गरिन्छ । घटनास्थलबाट मृतकको सुनको औंठी,मोबाइल र हार्डडिक्स लगिएको प्रहरीले पत्ता लगाउँछ ।
प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग नगरेको भन्दै बेला बेलामा आलोचनासमेत हुने गरेको छ । यसबाट मुक्त हुन र अनुसन्धानलाई थप सहज बनाउन प्रहरीले कुकुर परिचालन गर्ने निर्णय गर्छ । २६ गते साँढे ८ बजे कुकुर शाखाबाट कुकुर ह्याण्डलरले कुकुर परिचालन गर्छन् ।
तालिमप्राप्त कुकुरले हत्यारा भागेको बाटाको संकेत गर्छ । अनुसन्धानमा खटिएको प्रहरीलाई कुकुरमार्फत केही क्लु फेला पर्छ ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले १ सय ५० भन्दा बढीसँग सोधपुछ समेत गर्छ । तर, त्यहाँबाट पनि कुनै नयाँ तथ्य फेला पर्दैन । हत्यारा गुमनाम नै हुन्छन् । घटनास्थलमा कुनै सबुद पो छुटेको छ कि भन्दै प्रहरीले पटक पटक अनुसन्धान पनि गर्छ । त्यसबाट पनि कुनै नयाँ चिज फेला पर्दैन ।
प्रविधिमार्फत अपराधी पत्ता लगाउन प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाउँछ । प्रहरीले मृतक ढकाल लगायत सयौं जनाको मोबाइल नम्बरको अनुसन्धान गर्छ ।
सोही क्रममा माघ ४ गते दिउँसो साढे १ बजे । मृतकको मोबाइलसहित दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरबाट प्रहरीले ३१ वर्षीय दिनेश थापा मगरलाई नियन्त्रण लिन्छ ।
मृतकको मोबाइलबाटै प्रहरी हत्यारासम्म पुग्न सफल हुन्छ । पक्राउ परेका मगरलाई निरीक्षक थापा कमाण्डको प्रहरीले केरकार गर्छ । उनले उक्त मोबाइल हेटौंडा ११ बस्ने १९ वर्षिय अनमोल पुडासैनीसँग १० हजारमा खरिद गरेको बयान दिन्छन् ।
उनले मोबाइल किन्ने बेला पुडासैनीको नागरिकताको फोटोकपीसमेत मागेर राखेका थिए । त्यसबाट प्रहरीलाई झन ठूलो प्रमाण मिल्छ । मगरको बयान र नागरिकताको प्रतिलिपिबाटै प्रहरीले अनमोललाई खोज्न सुरु गर्छ ।
४ गते दिउँसो ५ बजे हटौंडा–४ बाट प्रहरीले अनमोल पुडासैनी र उनीसँगै रहेका प्रवीण वाइबालाई पक्राउ गर्छ ।
यसरी भयो हत्या
ढकाल हत्यामा प्रत्यक्ष संलग्न दुई र मृतक ढकालको सुन तथा मोबाइल किन्नेसंग प्रहरीले अहिले बयान लिइरहेको छ । बयानबाट हत्याका केही कारणहरु खुल्दै गएका छन् । पुस २५ गते दिउँसो ४ बजेर ४५ मिनेट जाँदा उनीहरुबीच जंगलमा भेट भएको थियो । हत्या आरोपमा पक्राउ परेकाहरूले भनेका छन्, ‘हामी गफ गरेर बसिरहेका थियौं । मनोहर आएर भाइ आएर तिमीहरू किन जंगलमा बसेको, बद्मासी गर्न लागेको हो भन्दै धम्क्याए ।’
सोही क्रममा वादविवाद हुँदा ढकालको हत्या भएको अनुसन्धानबाट खुलेको छ । मृतक ढकालले ‘प्रहरी बोलाइदिउँ, साँझ परको बेला जंगलमा लुट्न बसेको’ समेत भनेको पक्राउ परेकाले बयान दिएका छन् ।
यही विषयमा उनीहरूबीच विवाद भएको थियो।
हातमा सुनको औंठी पनि लगाएको, झोला बोकेको र मोटरसाइकलमा आएको भनेपछि पक्कै पनि राम्रै रकम होला भनेर हातपात गर्दा ढकालको हत्या भएको पक्राउ परेकाको बयान छ ।
ना २३ प ६३३८ नम्बरको ढकालको मोटरसाइकल स्टार्ट भएकै अवस्थामा अभियुक्तले उनीमाथि आक्रमण गरेका थिए । उनलाई हात पछाडि लगेर अभियुक्तले लडाए । त्यसपछि ढकालको औंलामा भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोलासमेत खोसी अभियुक्तले मुखमा मुक्काले हिर्काए । त्यसपछि ढुंगा भएको खोल्सामा धकेलेर उनको हत्या गरेको पक्राउ परेकाले स्वीकार गरेका छन् ।
अभियुक्तले मृत ढकालको औंठी मोबाइल, पर्समा पाँच सय र हार्ड डिक्स लगेका थिए भने खाली पर्स, झोला, खोल्सामा फालेका थिए ।
मृतक ढकालको औंठी किन्ने हेटौंडा २ स्थित नारायणी सुनचाँदी पसलका सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
हार्ड डिक्स र डाटा केबल हेटौंडा ४ एनसेल कार्यालय पछाडी मदन रिजालको घरकोठा भाडामा लिई बस्ने अनमोल पुडासैनीको डेरा कोठाबाट प्रहरीले बरामद गरेको छ ।
विद्यालयमा पढाएर हेटौंडा बजार हुँदै आफ्नो घर जान हिडेका पत्रकार ढकाल एक्कासी भैरवडाँडामा किन गए भन्नेमा चासो छ ।