प्रताप विष्टले यसरी सम्झिए पत्रकार मनोहर ढकाललाई

लोकखबर
७ माघ २०७५, सोमबार १६:२९

मकवानपुर । मकवानपुरका पत्रकार मनोहर ढकालको स्मृतिमा आज नेपाल पत्रकार महासंघ मकवानपुरले शोकसभा गरेको छ । गत पुस २५ गते हेटौँडाको भैरवडाडामा हत्या गरिएका ढकालबाट पत्रकारिता क्षेत्रमा धेरै कुरा सिक्न सकिने सभाका सहभागीहरुले बताए । सभामा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष प्रताप विष्टले मनोहरको मृत्युले एक असल सञ्चारकर्मीको क्षति भएको बताए ।
विष्टले यसरी सम्झिए


मनोहरलाई म नजिकबाट चिन्दछु । उनको मृत्युले हामी सबै दुःखी छौं । मनोहर जी किन त्यो दिन भैरवडाँडा जानुभयो ? अघिपछि रेडियो अनमोलमा जाने तर त्यसदिन उहाँ रेडियो नगई किन भैरवडाँडा जानुभयो भन्नेमा सबैको चासोको विषय छ । मनोहर जीको घटनासंग सम्बन्धित सबै पाटो बाहिर आओस् भन्ने हाम्रो चाहना हो । उहाँ सबैलाई हाँसेरै स्वागत गर्ने मान्छे हो । कसैलाई पनि बिझाउने कुरा नगर्ने, नरम स्वभावको । जस्तो अनुहार छ मन पनि त्यस्तै सफा भएको मान्छे । हामीले मनोहरबाट धेरै कुरा सिक्नुपर्छ । हामी समाचारका लागि एक्लै हिड्छौं, दौडिन्छौं । तर समाचारका लागि हिड्दा पनि सकिन्छ भने अबदेखि साथीसंगै हिडौं भन्ने सन्देश मनोहर जीको यो घटनाबाट भएको छ । अर्को कुरा समाज कति क्रुर छ भन्ने कुरा पनि यो घटनाबाट बुझिन्छ । अहिले समाजमा सकारात्मक केही काम गर्छु भनेर लागिपरिरहँदा समाजमा नकारात्मक सोचाई भएका मान्छेहरु पनि छन् भन्ने बुझिन्छ । उहाँले केही बिराएको होइन । साना बालक देखे,गाँजा खाइरहेका । ए गाँजा नखाउ भने । यति भन्दा उहाँमाथि आक्रमण भयो । यो समाजको अवस्था कस्तो भयो भन्दा नेगेटिभ अवस्थामा रहेका मानिसलाई अथवा कुलतमा रहेका मानिसलाई सत्मार्गमा ल्याउन निकै गाह्रो छ । जसले सत्मार्गमा ल्याउने प्रयत्न गर्छ त्यसले ज्यान समेत गुमाउन पर्नसक्छ भन्ने यो घटनाबाट भयो । मनोहर हत्यामा संलग्नलाई कानून अनुसार कडाभन्दा कडा सजाएको व्यवस्था हुनुपर्छ ।
हामीले मनोहरको जुन प्रकारको सरलता, स्वभाव थियो, उहाँको जुन प्रकारको जीवनशैली थियो । त्यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ । मनोहर, रेडियोकर्मीहरुका लागि प्राविधिक रुपमा मकवानपुरका अग्रज हुन् । दक्षिण एसियामा पालुङमा सबैभन्दा पहिले अडियो टावर चलेको हो । त्यो रेडियो चलाउने मान्छे मनोहर हो । वि.सं.२०५२ सालमा पालुङमा रुखमा दुई वटा माइक राखेर अडियो चलाइएको थियो । पछि २०६१ साल असार २१ गते त्यो अडियोको विकसित रुपनै रेडियो पालुङ हो । यो रेडियोमा पहिलो स्वर मनोहरको बजेको थियो ।
शिक्षण क्षेत्रमा पनि मनोहर आफैं राम्रो दख्खल राख्ने मान्छे हुन् । उहाँले पढाउने विद्यालयका शिक्षक, विद्यार्थीसंग पनि कुरा गरियो । उहाँ अत्यन्तै लगनशील मान्छे हो । व्यवस्थापनमा एमए गर्नुभएको एकजना होनाहार व्यक्तित्व उहाँ हुनुहुन्छ । हामीले एकजना सञ्चारकर्मीमात्र गुमाएका होइनौं, हामीले समाजका एक जना असल मान्छे गुमाएका छौं । समाजमा कुलतमा लागेका मान्छेलाई सम्झाउँदा ज्यान गुमाउनु परेको छ । हामी सबैले बुझ्नुपर्ने के छ भने समाजमा चुनौतीहरु छन् ।
मनोहरको सिंगो परिवारलाई आर्थिक रुपमा केही गर्नु नपर्ला, उहाँको परिवारमा व्यक्तिगत सामिप्यता राख्दै अघि बढौं । तेह्र दिनपछि मनोहरलाई बिर्सने अवस्था होइन, मनोहरको परिवारलाई हाम्रो आफ्नै परिवार भनेर सोचौं । हामीले केही गर्न नसकेपनि मायाप्रेम, भावना दिनसक्छौं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*