सहिदको अपमान नगरौं ।

शुष्मा सापकोटा
१६ माघ २०७५, बुधबार ००:३५

 मुलुकमा स्वतन्त्रताका लागि सहिदले आफ्नो प्राण उत्सर्ग गरे । तर लोकतन्त्रपछि सहिद शब्दको अपमान भएको छ । जुनसुकै आन्दोलनमा मृत्यु भएकालाई पनि सहिद भनिदिदा वास्तविक सहिदको अपमान हुन गएको छ । देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने वास्तविक सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाललाई जहानीया राणाहरुले कोहीलाई गोली ठोकेर, कोहीलाई झुण्ड्याएर मारेका थिए ।

देश र जनताको पक्षमा उनीहरुले आफ्नो प्राण आहुती दिएका थिए ।

वि.सं २००७ देखि २०६२÷०६३ अनि त्यसपछिका आन्दोलनका क्रममा थुप्रै ज्ञात अज्ञात शहीदहरूले सहादत प्राप्त गरे । १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे, १९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए । विगतमा देशका लागि हाँसी हाँसी बलिदानी हुन तयार सहिदप्रति आजका दिनमा श्रद्दाञ्जी अर्पण गर्दछु ।

पछिल्लो समय नेपालमा केही राजनीतिक परिवर्तनमा लागेर मृत्यु भएका सबैलाई सहिद घोषणा गर्ने गरिएको छ । यतिमात्र होइन, जुनसुकै कारणबाट मृत्यु भएपनि सहिद घोषणा गरेर आर्थिक दिइनुपर्ने माग राख्दै सडकमा उत्रिने प्रचलन बढ्दो छ । यस्तो कार्य पक्कै पनि विकृति हो । सहिद शब्द कति सस्तो बनाइएको ? जो पनि, जहिले पनि सहिद घोषणा गर्ने परम्परा राज्यमा नहोस् । वास्तविक सहिदप्रति उच्च सम्मान गर्दै उनीहरुले देखेको सपना पूरा गर्ने मार्गमा सरकार, दल, नेता लागि परुन् ।
                                                                            हेटौंडा ५, मकवानपुर

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*