बिद्यालयमा शैक्षिक कोष स्थापना
बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्या माविमा शैक्षिक स्तर उकास्नका लागि शैक्षिक कोष स्थापना गरिएको छ । तिगाउंको एक विद्यालयमा तीन वटा शैक्षिक अक्षय कोष स्थापना भएको छ ।
बेलकोटगढी नगरपालिका–११ तिगाउंमा रहेको पञ्चकन्या माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा तीनवटा शैक्षिक अक्षय कोष स्थापना गरिएको छ । पूर्व विद्यार्थी तथा समाजसेवीको पहलमा स्थापना गरिएको कोषले विद्यालयको शैक्षिक विकास र विद्यार्थी प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक ठाकुरजंग पाण्डेका अनुसार पूर्व विद्यार्थीहरूको तर्फबाट तीन वटा छुट्टाछुट्टै नाममा शैक्षिक अक्षय कोष स्थापना गरिएको छ । कुल चारलाख २२ हजार २ सय २२ रुपैयाँ बराबरको रकमबाट स्थापित कोषले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न उपयोग गरिनेछ ।
कोषहरूले विद्यालयको गुणस्तरीय शिक्षा विस्तार र विद्यार्थीको मनोबल वृद्घि गर्न महत्वपूर्ण योगदान पु¥याउने प्रधानाध्यापक पाण्डेले बताए । बेलकोटगढी –११ का श्याम तिमल्सिनाले आफ्ना पिता तिर्थराज तिमल्सिनाको नामबाट दुई लाख रुपैयाँ बराबरको शैक्षिक अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

हस्तकला क्षेत्रका व्यवसायीसमेत रहेका तिमल्सिनाको सहयोगले विद्यालयको शैक्षिक गतिविधिमा दीर्घकालीन सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी निरञ्जन पाण्डेले आफ्ना स्वर्गीय पिता नीरबहादुर पाण्डे र माता दिपकुमारी पाण्डेको सम्झनामा एक लाख लाख ११ हजार १ सय ११ रुपैयाँको ‘नीरबहादुर–दिपकुमारी पाण्डे स्मृति शैक्षिक अक्षय कोष’ स्थापना गरेका छन् ।
सोही विद्यालयका अर्का पूर्व विद्यार्थी डा. राजकुमार पाण्डेले आफ्ना दिवंगत पिता जनकबहादुर पाण्डे र माता खिलकुमारी पाण्डेको स्मृतिमा एकलाख ११ हजार १ सय ११ रुपैयाँको ‘जनकबहादुर–खिलकुमारी पाण्डे स्मृति शैक्षिक अक्षय कोष’ स्थापना गरेको प्रअ पाण्डेले बताए । विद्यालयका अनुसार स्वर्ण जयन्तीको अवसरमा स्थापना गरिएका यी शैक्षिक अक्षय कोषले पञ्चकन्या माविको शैक्षिक विकाससँगै नयां पुस्ताका विद्यार्थीलाई प्रोत्साहन गर्ने स्थायी आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ ।













































