शिरशिरेका किसानको यो पीडा सुन्ने कसले ?

लोकखबर
१६ माघ २०७५, बुधबार २०:५७

मकवानपुर ।मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९, शिखरपुर, शिरशिरेकी गोमा बजगाईं स्थानीय उज्ज्वल महिला कृषक समूहकी अध्यक्ष हुन् । कृषक समूहको नेतृत्व गरिरहेकी उनलाई व्यवसायिक रुपमा तरकारी खेती गरेर राम्रो आम्दानी लिउँ भन्ने लागेको छ । तर सिंचाई अभावका कारण व्यवसायिक तरकारी खेती गर्ने उनको चाहना अधुरै रहेको छ ।

सिंचाई अभावले उनको १५ कठ्ठा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ । ‘व्यवसायिक रुपमा तरकारी खेती गरेर आम्दानी लिने योजना बनाउछु के गर्नु सिंचाई अभावले आफ्नो योजना कहिल्यै सफल हुन पाएन ।’ गोमा भन्छिन्,‘अफूसंग प्रसस्त जग्गा भएर पनि सिंचाई नभएपछि कसरी व्यवसायिक रुपमा खेती गर्न सक्नु ?’
गोमामात्र होइन शिखरपुरको शिरशिरे, ढुङ्ग्रे,स्कुलदमारका ३५ घरधुरीलाई आवश्यक सिंचाईका लागि पानी अभाव भएको छ । स्थानीय खोल्सामा तैरिएको पानीबाट खानेपानी समस्या टारेपनि तरकारी तथा अन्य पानीबाट गर्नुपर्ने खेतीमा भने शिखरपुरबासीले समस्या झेल्नु परेको छ । केहीले व्यक्तिगत इनार खनेर पनि खान निर्वाह गरेका छन् । तर चैत वैशाखमा इनार पनि सुक्ने भएपछि उनीहरु खानेपानीकै समस्यामा परेका हुन् । ‘प्रसस्त पानीको व्यवस्था भइदिएको भए सबैको बारीमा यतिखेर गज्जबको व्यवसायिक तरकारी खेती भइरहेको हुन्थ्यो ।’ आफ्नो बाँझो बारी तिर देखाउँदै गोमा भन्छिन्,‘कृषक समूहको अध्यक्ष मेरै बारी बाँझो छाड्नु परेको छ ।’

स्थानीय खोल्सामा ट्याङ्कीमार्फत पानी व्यवस्थापन भइरहेकोमा वि.सं.२०५९ सालमा आएको बाढीले ट्याङ्की पुरेपछि उनीहरुले पानीको समस्या झेल्नु परेको हो । ‘हुन त अहिले पनि ट्याङ्की र पाइप व्यवस्थापन गर्न सकिए पानी उपलब्ध हुन्थ्यो ।’ गोमा भन्छिन्,‘तर वडाले नै हाम्रो बस्तीलाई उपेक्षा गर्यो ।’

टोलटोलबाट योजना सम्बन्धि सुझाव लिने क्रममा आफूहरुले खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर पठाएपनि वडाबाट बजेट विनियोजन गर्ने बेलामा कुनै योजना नपारिएको स्थानीयको गुनासो छ ।

शिरशिरे, ढुङ्ग्रे, भालुखोलामा पानीको स्रोत भएपनि आफूहरुलाई गाउँपालिका, वडा कार्यालयबाट सहयोग नभएको उनीहरुको दुःखेसो छ । ‘बस्तीको योजनामाथि छलफलमा खानेपानी, सिंचाईं, मठमन्दिर जस्ता विभिन्न योजना माग गरेकोमा खानेपानी व्यवस्थापनमा मात्रै ध्यान दिइएको भएपनि हामीलाई ठूलो राहत हुने थियो ।’ स्थानीय सविता खतिवडा भन्छिन्,‘ पानीको व्यवस्थापन मात्रै भइदिए बारीभरी तरकारी फलाएर आम्दानी लिनहुन्थ्यो ।’

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*