किन भावुक बने मुख्यमन्त्री डोरमणि पौडेल ?

हेटौंडा सहिद स्मारकमा प्रदेश सरकारले मनायो सहिद दिवस
लोकखबर
१६ माघ २०७५, बुधबार २२:२७

मकवानपुर । सहिद दिवसका अवसरमा प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेल निकै भावुक बने । हेटौंडाको सहिद स्मारकमा सहिद दिवस विशेष कार्यक्रममा सम्बोधनका क्रममा उनी भावुक बनेका हुन् । स्मारक विकास समितिका अध्यक्ष समेत रहेका पौडेलले बरु मुख्यमन्त्री पद छाड्नसक्ने तर स्मारक विकासका लागि नेतृत्व लिनबाट पछाडी नजाने बताए । स्मारकमा अहिलेको विकास तथा प्रगतिको विषयमा मन्तव्य व्यक्त गरिरहँदा उनी भावुक बनेका हुन् ।

मुख्यमन्त्री पौडेलकौ अगुवाईमा हेटौंडाको सहिद स्मारकले अहिलेको विकसित रुप पाएको हो । सम्बोधनमा उनले सहिदको सपना पूरा गर्ने बेला भएको बताए ।‘ सहिदको बलिदानकै कारण नेपाल वर्तमान अवस्थासम्म आईपुगेको हो ।’ उनले भने,‘सहिदको सपनालाई गणतन्त्र नेपालको सरकारले अब पूरा गर्नुपर्ने दायित्व छ ।’

मुख्यमन्त्री पौडेलले सहिदको शालिकमा माल्यार्पण समेत गरे । कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उद्योग, वन तथा पर्यटन मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश उपसभामुख राधिका तामाङलगायतको आतिथ्यता थियो ।

हेटौंडा ११, नवलपुरस्थित स्मारक गेटबाट र्याली सहित सहिद स्मारक पुगेर सहिद प्रतिमामा माल्यार्पण कार्यक्रम सुरु भएको थियो ।
सहिद दिवसका दिन प्रदेश ३ सरकारले सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्द प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाउने गरिएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्दाहरुको योगदानमा सहिद दिवस मनाउने गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*