आयुर्वेदको न्यूनतम सेवा मापदण्ड मुल्यांकन

– कुल ६३ प्रतिशत अंक प्राप्त
लोकखबर
२०८२ माघ ११, आईतवार २२:४९

बिदुर– नुवाकोटको पिपल्टारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको न्यूनतम सेवा मापदण्ड मुल्यांकन गरिएको छ । कार्यमुल्यांकनको नतिजा अनुसार सेवामा सुधार भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा दुई दिनसम्म स्थलगत रुपमा मुल्यांकन, परिक्षण तथा नतिजा सार्वजनिक भएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटको आव २०८१/०८३ को न्यूनतम सेवा मापदण्डको मुल्याङ्कन सम्पन्न गरिएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले प्रदान गरेको सेवा तथा सुविधाहरु सम्वन्धि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम सुधारात्मक रहेको पाइएको छ । चिकित्सालयले सर्वसाधारणलाई प्रदान गर्दै आएका सेवा, सुविधा तथा अन्य कार्यको मापदण्ड कार्यान्वयन मापनको प्रतिवेदनअनुसार ६३ प्रतिशत अंक प्राप्त गरेको हो ।

उक्त मुल्याङ्कन कार्यक्रमको समिक्षा तथा नतिजा प्रस्तुतीकरणमा कार्यहरु सुधार रहेको नतिजा सार्वजनिक भएको हो ।  मुल्याङ्कनमा कार्यालयले सुशासन तथा ब्यवस्थापनमा ५३ प्रतिशत, चिकित्सा सेवातर्फ ६५ प्रतिशत र सपोर्टिभ सेवातर्फ ६४ प्रतिशत अंक प्राप्त गर्दै समग्रमा ६३ प्रतिशत अंक प्राप्त गरेको नतिजा सार्वजनिक भएको हो । गत आव २०८०/०८१ मा भने स्वास्थ्य निर्देशनालयबाट गरिएको न्यूनतम सेवा मापदण्डको बाह्य मुल्याङ्कनमा सो कार्यालयले ३९ प्रतिशत अंक प्राप्त गरेको थियो ।

गत आव २०८१/०८२ मा बाह्य मुल्याङ्कन भएको थिएन । आन्तरिक मुल्याङ्कनमा ५६ प्रतिशत अंक प्राप्त भएको थियो । मुल्याङ्कन टोलीमा स्वास्थ्य निर्देशनालयबाट कन्सल्टेन्ट शल्य चिकित्सक डा रविन भूषाल, शुशील आचार्य, बबिता रेग्मी तथा बिनोदकुमार साह रहेका थिए । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले उपलव्ध श्रोत र साधन तथा कर्मचारीहरुको साथमा सेवा प्रवाहलाई प्रभावकारी वनाइएको दावी गरे ।

यस मुल्यांकनवाट अझैं सुधार गर्नुपर्नेमा निश्चित भई कार्य सुधारका लागि प्रभावकारीता अपनाइनेसमेत डा. गिरीले वताए । डा. गिरीले मुल्यांकनबाट आएका सुझाव तथा प्रतिवेदनलाई कार्यान्वयन गर्दै कार्यालयको सेवाको गुणस्तर प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन् । चिकित्सालयले भौतिक सुधार गर्नु पर्ने मुल्यांकन समितिले जनाएको छ । कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले विरामीहरुलाई उचित र प्रभावकारी रुपमा सेवा सन्चालनमा निरन्तरता दिन सुझाव दिएका छन् ।

चिकित्सालयमा न्यूनतम सेवा मापदण्ड अन्तर्गत गत आवमा प्राप्त ११ लाख रुपैया बजेटबाट अंतरंग सेवा संचालनका लागि आवश्यक औजार, यन्त्र, उपकरण तथा सरसामान खरिद तथा मापदण्डसंग सम्बन्धित अन्य कामहरु गरिएको कार्यालयले जनाएको छ । चालु आवमा न्यूनतम सेवा मापदण्ड अन्तर्गत तीनलाख ५० हजार रुपैया बजेट बिनियोजित भई आएको थियो ।


सर्वाधिक रुचाइएको