एउटै गापावाट ६ उम्मेदवार मैदानमा
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोटमा रोचक प्रतिस्पर्धा देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटको दुइवटै निर्वाचन क्षेत्रमा यसपटक रोचक उम्मेदवारी देखिएको छ । नुवाकोटमा ३० जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन् ।

पांच जना स्वतन्त्र र एक जना मात्र महिला उम्मेदवार रहेका छन् । स्वतन्त्र र महिला उम्मेदवार नुवाकोट १ का हुन् । सो क्षेत्रमा मुख्य तथा नयां दलहरुसहित १३ दलका तथा पांच जना स्वतन्त्र गरि १८ जना उम्मेदवार रहेका छन् ।

क्षेत्र नं. २ मा भने १२ दलका आआफ्नै उम्मेदवारहरु मैदानमा छन् । दुवै क्षेत्रमा मुख्य दलहरु जसरी पनि मत परिणाम आफ्नो पक्षमा पार्न लागिपरेका छन् भने नयां दलहरु जनताको लागि अबको संसदीय यात्रा नयां दलको हो भन्दै मत मागिरहेका छन् । रोचक विषय त, नुवाकोट १ मा मुख्य प्रतिस्पर्धी दलका अधिकांश उम्मेदवारहरु नै एउटै पालिकाका रहेका छन् । नुवाकोट २ मा पनि विदुर नगरपालिका बाटमात्रै मुख्यसहित पांच उम्मेदवार भिडिरहेका छन् ।

नुवाकोट १ मा कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत, नेकपाका हितवहादुर तामाङ, रास्वपाका विक्रम तिमिल्सिना, प्रगतीशिल लोकतान्त्रिक पार्टीका राजन गौतम तथा स्वतन्त्र उम्मेदवारहरु राजु थापा र माधव थापा एकै स्थानयि तह अर्थात पन्चकन्या गाउंपालिकाका हुन् । कतिपय मतदाताले दल विशेष नहेर्ने भएका कारण एकै स्थानका उम्मेदवार हुंदा मत विभाजन हुने आंकलन गरिएको छ ।

उनीहरु ६ जना एउटै गाउंपालिकाका हुँदा स्थानीयले दिने मत बाँडिदा भोटमा प्रभाव पर्ने विश्लेषण छ । यद्यपि, उम्मेदवारहरु आआफ्नो पक्षमा जनमत रहेको दावी गर्दै आएका छन् । एमालेका उम्मेदवार वद्री मैनाली सुर्यगढी गाउंपालिकाका हुन् । नुवाकोट २ मा मंगोल नेशनल अर्गानाइजेसनका रेन्छेन तामाङ, नेकपा संयुक्तका किरण तिमिल्सिना र आम जनता पार्टीका मानसिंह गदाइली तीनै जना तारकेश्वर गापाका हुन् ।


















































