उपभोक्ता अधिकार सचेतनामा जोड

– सामूहिक सचेतनाको प्रतिवद्धता
लोकखवर विशेष संवाददाता
२०८२ माघ १४, बुधबार २३:१९

बिदुर – उपभोक्ता अधिकारमा जोड दिदै सामूहिक सचेतनाको आवस्यकता रहेको नुवाकोटमा आयोजित कार्यक्रममा औल्याइएको छ । नुवाकोटको विदुरमा यस सम्वन्धि अन्तरक्रियामा उक्त जोड दिइएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय सिंहदरबारको आयोजना तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा “उपभोक्ता हित संरक्षण“ सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम नुवाकोटको विदुरमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा उपभोक्ता हितसंग सम्बन्धित सरोकारवालाहरुको सामूहिक सचेतनाको प्रतिवद्धता जनाइएको छ । उक्त कार्यक्रममा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उपभोक्ता हित संरक्षण मन्च, राष्ट्रिय उपभोक्ता मन्च, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, विषयगत निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, न्यायिक सम्बद्ध निकायः जिल्ला न्यायाधिवक्ता, अदालत, गैह्रसरकारी संघसंस्था, पत्रकारलगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव बिशाल सापकोटा र नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिसंगै अन्र्तक्रियात्मक रुपमा खुला छलफलमा सवैको जिम्मेवारी तथा दायित्वको विषयमा चर्चा गरिएको छ । स्वःस्फुर्तरुपमा सहभागीहरुले उपभोक्ताको हित संरक्षणमा आ–आफ्नो क्षेत्रबाट भएको प्रयास र योगदान प्रस्तुत गर्दै त्यसमा देखिएका समाधानका लागि सुझावसमेत दिएका छन् । अधिकारसंगै कर्तव्यको समेत बोध हुन जरुरी रहेको छलफलका क्रममा सहभागिहरुले बताए ।

उपभोक्ताको हितका लागि उद्योगी व्यवसायी, उत्पादक, वितरकले आफ्ना वस्तु तथा सेवाको उपभोग्य अवधि, गुणस्तर, उचित मूल्य, उचित तौलको बारेमा स्पष्ट हुन जरुरी रहेको त्यसका लागि उपभोक्ता सचेतना आवश्यक रहेको छलफलमा क्रममा बताइएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवाला सबैपक्ष उत्तिकै जिम्मेवार रहेको हुँदा हरेक क्षेत्रले आफ्नो क्षेत्रको काममा अनुशासित भई सम्पादन गरेमा स्वःअनुगमन हुने भएकोले उत्पादक, वितरक तथा उपभोक्ताले आप्ना अधिकार र कर्तव्य बोध गर्न आवश्यक रहेको छलफलकाक्रममा चर्चा गरिएको छ ।

बाणिज्य तथा उपभोक्ता संरक्षण विभागले प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख तथा ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम निरीक्षण अधिकृत समेत तोकिसकेको छ । निरीक्षण अधिकृतले बजार अनुगमन गरी नियमिति रुपमा विभागमा प्रतिवेदन गर्नु पर्ने प्रावधानसमेत रहेको छ । त्यसैगरी बागमती प्रदेश कानून अनुसार बागमति प्रदेशका सबै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति, पत्रकार महासंघका प्रतिनिधि, उद्योग बाणिज्यको क्षेत्रमा क्रियाशिल संस्थाका प्रतिनिधि, कानून व्यवसायी, उपभोक्ता हित संरक्षको क्षेत्रमा क्रियाशिल संस्थाका प्रतिनिधि, सम्बन्धित विषय विज्ञ तथा सुरक्षाकर्मी समेतको सहभागिता रहेको संयुक्त जिल्ला बजार अनुगमन समिति समेत क्रियाशिल रहेको छ ।

उक्त अनुगमन समितिले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन समेत गर्दै आइरहेको अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले बताए । महिनाको एक/दुई पटक बजार अनुगमन गरिनुपर्ने सहभागीहरुले जोड दिएका छन् ।


सर्वाधिक रुचाइएको