बालवालिकाको विशेष उपचार सेवा

– आयुर्वेदमार्फत उपचार
लोकखबर
२०८२ माघ १९, सोमबार २३:२९

बिदुर– बालबालिकालाई लक्ष्यित गर्दै नुवाकोटमा विशेष उपचार सेवा सन्चालन गरिएको छ । आयुर्वेदमार्फत उक्त उपचार सेवा सुरु गरिएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटको आयोजनाले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्ष्यित गर्दै स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो । उक्त स्वर्णबिन्दु प्राशन कार्यक्रमले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको चिकित्सालय प्रमुख डा. नरेन्दप्रसाद गिरीले जानकारी दिए ।

उनका अनुसार सो आयुर्वेदिक पद्धतिमा आधारित प्राशनले बालबालिकाको शारीरिक अवस्थाको वृद्धि, मानसिक विकास, रोग प्रतिरोधात्मक क्षमता तथा समग्र स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । अभिभावहरूलाई आफ्ना नानीबाबुहरूको स्वास्थ्य सुरक्षाका लागि चिकित्सालयवाट सो सेवा लिन डा. गिरीले अनुरोध गरेका छन् । स्वस्थ्य बालबालिका स्वस्थ्य भविष्यको आधार भन्ने अभियानसहित बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा पहिलोपटक निःशुल्क ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सन्चालन गरिएको हो ।

उक्त कार्यक्रममा पहिलो चरणमा १ वर्षदेखि ५ वर्ष उमेर समूहका चार सय ६० जना बालबालिकाहरूलाई सेवा दिइएको चिकित्सालयका प्रमुख डा. गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट लाभान्वित हुने बालबालिकाहरूमा २ सय ३७ जना बालक र २ सय २३ जना बालिका रहेका छन् । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य सुरक्षाका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको डा. गिरीले दावी गरे ।

बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सन्चालित उक्त कार्यक्रमले अभिभावकहरूमा विस्वास र उत्साह थपेको छ । विशेषगरी सानै उमेरदेखि बालबालिकाको प्राकृतिक रूपमा स्वास्थ्य रक्षा गर्न आयुर्वेदको सो पद्धति निकै प्रभावकारी रहेको आयुर्वेदकर्मीहरुको भनाई छ ।

यो कार्यक्रम आगामी फागुन १६ गते र चैत १४ गते सञ्चालन गरिने तय भएको छ । सोही कार्यक्रम आगामी २०८३ साल वैशाख १० गते, जेठ ६ गते र असार ३ गते पनि पुष्य नक्षत्रका दिनहरूमा नियमित रूपमा सञ्चालन गरिने डा. गिरीले बताए ।

 


सर्वाधिक रुचाइएको