सामाजिक अगुवा अधिकारीको पुस्तक प्रकाशित
बिदुर – चार दशकदेखि सामुदायिक विकास अभियानमा क्रियाशील नुवाकोटको गोस्र्याङका एक जना वयोवृद्ध शिक्षाप्रेमीले आफ्नो जीवनको स्मरण प्रकाशित गरेका छन् । उक्त पुस्तकको कार्यक्रमकावीच विमोचन गरिएको छ । गत १९९२ साल भदौ १७ गते तारकेश्वर गाउंपालिका ५ गोस्र्याङमा जन्मेका वयोवृद्ध बाबुराम शर्माअधिकारीले आफ्नो स्मरण उल्लेख गरिएको ‘जीवनको पाठशाला’ प्रकाशित गरेका छन् ।

एकसय २० पृष्ठको उक्त संस्मरण पुस्तक उनी आफैले स्थापना गरेको असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षाले प्रकाशन गरेको हो । आजभन्दा ५१ वर्ष अघि नोकरीको सिलसिलामा अमेरिका पुगेका अधिकारीले उक्त पुस्तकमा आफ्नो जीवन भोगाई, संघर्ष, समस्या र समाधानका ३५ वटा खण्डमा आफ्ना अनुभव साझा गरेका छन् । वालवालिकाहरुको शिक्षा, असहायहरुको स्वास्थ्य उपचार तथा सामाजिक क्षेत्रमा सक्रिय वृद्ध अधिकारीले गरेका कार्यहरु पनि पुस्तकमा उल्लेख गरेका छन् ।

आफ्नो जीवनमा अनेक हण्डर खपेर, अनेकन दुःख पीडा भोगेर अधिकारीले गत २०३० सालमा इतिहासमा स्नातकसम्म अध्ययन गरि उत्तिर्ण गरेको विषय लेखेका छन् । नेपाली दुतावास डिसीमा कर्मचारीका रुपमा पोस्टिंङ भएर पांच दशक अगाडि अमेरिका पुगेका अधिकारीलाई धेरैले हाल वावुराम बा, अमेरिकान बा’ का उपनामले चिन्ने गर्दछन् । विद्यालय स्थापना, वृद्धाश्रम स्थापना, शिक्षा, स्वास्थ्य र सामाजिक जागरणमा नाम लिनेहरुको सूचिमा वृद्ध अधिकारीको अग्रस्थानमा नाम आउने गर्दछ ।

लगातार तीन दशक अमेरिका बसेर चार छोराछोरी उतै हुर्काएर घरजम गरेको विषय पनि पुस्तकमा समेटिएका छन् । अधिकारीका अनुसार आजभन्दा ५० वर्ष अघि पूर्वी तटीय अमेरिकादेखि पश्चिम तटीयसम्म गन्न सकिने संख्यामा नेपालीहरु थिए । फ्लोरिडाको ज्याक्सनभीलमा बसेर जीवनका तीन दशक पुरै अमेरिकामा बिताएका अधिकारी ३० वर्षदेखि नेपाल आएर धेरै समय नेपाल र थोरै समय अमेरिका जाने गर्दछन् ।

उनी हाल एटलान्टामा वसोवास गर्दछन् । धेरै समय नेपाल र थोरै यता अमेरिकामा बस्ने गर्दछन् । पाँच दशक अघिको अमेरिका र नेपाली समुदायका बारेमा उनले आफ्नो पुस्तकमा लेखेका छन् । शिक्षा र ससचेतनाको सन्देश खोज्नेहरुका लागि अधिकारीको पुस्तक मार्गदर्शनको रुपमा रहेको नुवाकोट आदर्श वहुमुखि क्याम्पसका अध्यापक नवराम शर्माअधिकारी वताउंछन् ।

पुस्तकमा उनले ५० वर्ष अघिको आफ्नो अमेरिका बसाईदेखि लिएर पढ्नलाई गरेको संघर्ष लेखेका छन् । जिन्दगीमा अनेक हण्डर भोगेका वावुराम बा को उक्त पुस्तक त्यतिखेरको नेपाल बुझ्न चाहने, अमेरिका कस्तो थियो भनेर जान्न चाहनेका लागि एउटा सफा ऐना बनेको छ । उक्त पुस्तकको कार्यक्रमकावीच साहित्यकार, कवि तथा पत्रकार डा. नवराज लम्सालले विमोचन गरे ।

लम्सालले वृद्ध अधिकारीले शिक्षा र जागरणका क्षेत्रमा गरिएको मेहनत, जांगर, सोच र सामाजिक अभियान नयां पिढी अर्थात् अहिलेका मात्र नभई सवैका लागि प्रेरणा भएको वताए । अधिकारीले विदुर नगरपालिका ४ बट्टारमा तीन दशक अगाडि आफुले वनाएको घरमा नेपाल एकिकरणका अगुवा पृथ्वीनारायण शाहको शालिकसमेत निर्माण गरेका छन् । उक्त शालिकको पनि साहित्यकार तथा कवि डा. नवराज लम्सालले अनावरण गरे ।

सांढे पांच फिट अग्लो पृथ्वीनारायण शाहको पुर्णकदको शालिक समाजसेवी तथा शिक्षाप्रेमी बाबुराम शर्माअधिकारीले एकता र सद्भावको सन्देशस्वरुप सिमेण्टमार्फत आफ्नै घरको आंगनमा निर्माण गरेका हुन् । वृद्ध अधिकारीले पृथ्वीनारायण शाहले नुवाकोटवाटै नेपालको एकिकरण सुरु गरेको, नुवाकोट टाकुरोमा साततले दरवार बनाएको उनले वेलकोट हुदै काठमाडौ उपत्यकासहित धेरै टुक्रामा रहेको नेपाललाई एकै मालामा उनेको जनाउंदै आफ्नै घरमा शालिक निर्माण गरेको बताए ।

वृद्ध अधिकारी पृथ्वीनारायण शाहको एकिकरणको महत्व र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र महत्वपुर्ण रहेको दावी गर्दछन् ।














































