धमाधम समातिदै लागुऔषध कारोबारी

मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार ७४ किलो गाँजा नियन्त्रणमा लियो । गाँजा नियन्त्रणमा लिनुका साथै हेटौंडा १९ बाट चन्द्रबहादुर भोलन पनि पक्राउ परे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले हटौंडा १९ सिंगरा चोक बस्ने चन्द्रबहादुर भोलनको घरबाट लागुऔषध गाँजा १६ किलो, सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो र बुद्घिलाल भोलनको घरबाट २६ किलो गाँजा नियन्त्रणमा लिएको हो ।
मकवानपुरमा पछिल्लो समय प्रहरी सक्रियताका कारण गाँजा कारोबारी तथा ओसार पसारमा संलग्न हुने धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषध गाँजा खेती तथा ओसार पसारको ट्रान्जिट मानिने मकवानपुरमा लागूऔषध कारोबार र दुब्र्यसनमा संलग्न भएको आरोपमा मकवानपुर प्रहरीले पछिल्लो ६ महिनामा ११६ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
गत असारदेखि पुस महिनासम्ममा लागूऔषध, गाँजा तथा मेडिकलसँग सम्बन्धित विभिन्न लागुऔषधको कारोबार तथा सेवनमा संलग्न छन् । ११६ जनामध्ये १४ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । हरेक महिना २० जनाका दरले लागूऔषध कारोबार र दुव्र्यसनका आरोपी पक्राउ परिरहेको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुको साथबाट गाँजा, नाइट्रोभेट, कोरेक्स, ब्यूरोनोफिन, नोर्फिन लगायतका लागूऔषध पनि प्रहरीले नियन्त्रणमा लिने गरेको छ । पक्राउ परेकामध्ये ४५ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको र ७१ जना धरौटीमा छुटेको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पछिल्लो ६ महिनामा प्रहरीले ८ क्विन्टल ९० किलोग्राम २२ ग्राम गाँजा तथा ३२ किलोग्राम १ सय ४० ग्राम चरेस बरामद गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार २ हजार ११९ थान नाइट्रोभेट ट्याब्लेट, कोरेक्स १७९ बोत्तल, ब्युप्रोनोफिन १६६० एम्पुल, नोर्फिन ६ एम्पुल, स्पास्मो ४५ ट्याब्लेट, डाइजेपाम १७७८, फेनारगन १६९९ र खैरो हेरोइन ४ ग्राम ३३५ मिलिग्राम बरामद गरिएको छ ।
लागूऔषध ओसारपसारका क्रममा प्रहरीले विभिन्न १३ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाइएका सवारी साधनमा मोटरसाइकल, बोलेरो गाडी, कार, ट्याङकर, स्कूटर लगायत छन् ।
मकवानपुरमा गाँजा खेती तथा ओसार पसार नियन्त्रणका लागि प्रहरीले विगत लामो समय देखि अभियान चलाइरहे पनि दुर्गम क्षेत्रसम्म पुग्न नसक्दा अभियान प्रभावकारी हुन नसकिरहेको गुनासो छ । चालू आर्थिक वर्षमा मकवानपुरमा ३ बिगाह २ कट्ठा १० धुर क्षेत्रमा लगाइएको गाँजा फँडानी गर्ने कार्य मकवानपुर प्रहरीले गरेको छ । हेटौँडा उपमहानगरपालिकामा १९, राक्सिराङ गाउँपालिका,बकैया गाउँपालिका तथा कैलाश गाउँपालिकामा पुगेर गाँजा खेती फँडानी गरिएको हो । यस्तै, ३३ बिगाह ७ कट्ठा क्षेत्रमा लगाइएको अफिम खेती पनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा कार्य सम्हाल्न आइपुग्ने सिडिओ, एसपी सबैको प्राथमिकताको क्षेत्र लागुऔषध नियन्त्रण हो भनिन्छ । तर विगत दशौं वर्षदेखि यो सवाल उस्तै चर्चामात्र भइरहेको छ । पछिल्लो समय मकवानपुरमा प्रहरीले लागुऔषधसहित कारोबारीलाई धमाधम नियन्त्रणमा लिइरहेको खबरले नागरिकवृतमा खुशी छाएपनि प्रतिफल देखिने गरी काम काम हुन नसकेको गुनासो उत्तिक्कै छ । प्रहरीले दैनिक जसो लागुऔषधसहित व्यक्ति नियन्त्रणमा लिने क्रम विगत लामो समय देखि जारी छ ।