अस्थायी मतदाता नामावली सार्वजनिक

– समानुपातिकमा मतदान गर्न पाउने
लोकखबर
२०८२ माघ २२, बिहीबार १८:२९

बिदुर– नुवाकोटमा अस्थायी मतदाता नामावली सार्वजनिक भएो छ । अस्थायी मतदाताले समानुसपातिक प्रणालीमा मात्र मतदान गर्न पाउने प्रावधान रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि तयार गरिएको अस्थायी मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

२ हजार ६ सय ४६ जनाको अस्थायी मतदाता नामावलीमा नाम प्रकाशित गरिएको जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा प्रकाशित अस्थायी नामावलीमा नाम छुट भएका मतदाताले नाम समावेश गर्न तथा विवरणमा त्रुटि भएका मतदाताले सच्याउनका लागि यहि २०८२ साल माघ २० गतेदेखि माघ २४ गते शनिवारसम्म दाबी–विरोध पेश गर्न सक्ने छन् ।

अस्थायी मतदातामा कर्मचारीहरु रहेका छन् । दाबी–विरोध सम्बन्धि निवेदन प्रमुख नाम दर्ता अधिकारीको कार्यालय वा जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा प्रत्यक्ष रूपमा अथवा इमेलमार्फत समेत पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा समावेश भए–नभएको एकिन गरी आवश्यक परे तोकिएको समयभित्र दाबी–विरोध गर्न आग्रह गरेको छ । अस्थायी नामावली भएकाले समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनका लागि अस्थायी मतदाता नामावली सम्बन्धि कार्यविधि, २०८२ बमोजिम नामावली संकलन, व्यवस्थापन तथा अद्यावधिक गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरिएको हो ।


सर्वाधिक रुचाइएको