कारागारसहितका संरचनामा खटियो सेना
बिदुर– निर्वाचनमा सुरक्षा मजवुतीका लागि नुवाकोटमा सेना खटिएको छ । महत्वपुर्ण स्थल तथा निर्वाचन स्थलहरुमा सेना खटएका हुन् । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षाथका लागि दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एक हजार सैनिक परिचालन भएका छन् ।
कारागार, महत्वपुर्ण संरचना तथा मतदान स्थलमा सेना पचिालन भएका हुन् । पहिलो चरणमा सेनाले गस्ती कार्य सुरु गरेको छ । विदुर नगरपालिका ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार नुवाकोटलगायतका स्थलमा सैनिक अधिकृतको नेतृत्वमा सेना खटिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२’ फौज परिचालन अप्रेशन निर्देशन अनुसार नुवाकोटमा पहिलो चरणमा एकहजार सैनिक परिचालन भएको हो । कारागार, भौतिक संरचना, महत्वपुर्ण राष्ट्रिय गौरवका आयोजना, निर्वाचनस्थलमा सेना खटिएका हुन् । नुवाकोटको बट्टारमा रहेको शेर गणबाट ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन जिल्ला सुरक्षा समितिको अनुसार सैनिक परिचालन गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सैनिक गस्ती मार्फत सुरक्षा व्यवस्था मजबुत बनाउन थालिएको छ । निर्वाचन क्षेत्र अनुसार मतदान स्थलहरुको भौगोलिक विकटता, संवेदनशिलता साथै तत्कालिन रुपमा विकसित हुदैँ जाने विभिन्न घटनाक्रम तथा गतिविधिहरुको आकलन तथा मुल्याङ्कन गर्दै क्रमिक रुपमा नुवाकोटमा एकसय ३३ भन्दाबढी स्थानमा नेपाली सेना तैनाथ रहने जिल्ला सुरक्षा समिति नुवाकोटले जनाएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय गर्दै निर्वाचन सफल, शान्तिपुर्ण वनाउन परिचालित भएको र सैनिक निर्वाचनको अन्तिम नतिजा प्रकाशित नहुँदासम्म निरन्तर कार्यक्षेत्रमा रहने छ ।













































