किशोरीहरुलाई एचपिभि खोप सुरु

– २२ सय वढि किशोरीलाई लगाइने
लोकखवर विशेष संवाददाता
२०८२ माघ २७, मंगलवार २१:१३

बिदुर– सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सन्चालन गरेको एचपिभी खोप अभियान नुवाकोटमा मंगलवारदेखि सुरु भएको छ । तीन दिनसम्म उक्त खोप लगाइने जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । गत २०८१ सालदेखि एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेसँगै १२ स्थानीय तह रहेको नुवाकोटमा विद्यालय केन्द्रीत खोप सञ्चालन गरिएको कार्यालय प्रमुख डा. अन्जु कार्कीले जानकारी दिइन् ।

उनका अनुुसार कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई मंगलवारदेखि तीन दिनसम्म उक्त खोप लगाइन्छ । जसमध्ये दुईहजार एकसय ९० जना किशोरी विद्यालय जाने र २२ जना विद्यालय नजाने किशोरीहरुसमेत गरि कुल दुईहजार दुईसय १२ जना किशोरीहरुलाई एचपिभी खोप लगाउन सुुुरु गरिएको डा. कार्कीले जानकारी दिइन् । उनका अनुसार खोप लगाउनका लागि स्थानीय तहका दुईसय ८४ जना स्वास्थ्यकर्मी र विद्यालय नर्स तथा स्वंसेवक एकसय ३० जना गरि कुल गरि चारसय १४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

बिदुर नपामा पांचसय ५३, वेलकोटगढी नपामा दुईसय ९५, दुप्चेश्वर गापामा दुईसय ४३, ककनी गापामा एकसय ९८, तादी गापामा एकसय ६७, लिखु गापामा एकसय ४३, शिवपुरी गापामा एकसय २४, सुर्यगढी गापामा एकसय १६, तारकेश्वर गापामा एकसय १५, म्यागङ गापामा ९९, पन्चकन्या गापामा ९०, र किस्पाङ गापामा ६९ जना किशोरीहरुलाई एचपिभी खोप लगाउन सुुुरु गरिएको डा. कार्कीले वताइन् । जसमध्ये विद्यालय नजाने किशोरीहरुमा वेलकोटगढी नपामा ६, दुप्चेश्वर र ककनी गापामा पांच/पांच जना, म्यागङ र तादी गापामा दुई/दुई जना, बिदुर नपामा एक र किस्पाङ गापामा रहेका एक जना गरि २२ जनालाई उक्त खोपमा समावेश गरिने डा. कार्कीले वताइन् ।

उक्त खोप लगाउनु अगाडि विदुरमा जिल्ला खोप समन्वय समितिको अन्र्तक्रिया तथा स्वास्थ्य कार्यालय, शिक्षा शाखा, विद्यालय प्रतिनिधि र अन्य सरोकार निकायहरूसँग विशेष छलफल गरिएको थियो । कार्यक्रममा खोप सञ्चालनको मापदण्ड, लक्ष्यित समूह, खोप केन्द्र व्यवस्थापन तथा अनुगमन प्रणालीका विषयमा कार्यालय प्रमुख डा. अन्जु कार्कीद्वारा प्रस्तुतीकरण गरिएको थियो । ८८ वडा रहेको नुवाकोटमा हाल नियमित तथा मासिक रूपमा खोप केन्द्रहरूसमेत सञ्चालन भइरहेका छन् ।

तथ्याङ्कअनुसार पहाडि संरचना रहेको नुवाकोटमा  दुईसय १६ केन्द्र विद्यालयमा, बाह्य ९० र स्वास्थ्य संस्थामा एकसय एक केन्द्र गरि कुल चारसय सात खोप केन्द्र कायम रहेका छन् । तीन तीन यो कार्यक्रम भने विद्यालय केन्द्रीत खोप अभियान हो । विद्यालय वाहेकका केन्द्रहरूबाट मासिक रूपमा हजारौँ बालबालिका र महिलाहरू लाभान्वित भइरहेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत किशोरीहरू तथा विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई लक्ष्यित गरी एचपिभी खोप अभियान सञ्चालन गरिए हो ।

जसका लागि विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरी खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन, अभिमुखीकरण तथा समुदायस्तरमा सचेतनालाई प्राथमिकता दिइएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । एचपिभी एक प्रकारको भाइरस भएको र यसका कारण पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यधिक हुन्छ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको छ । स्वास्थ्यकर्मीका अनुसार किशोरावस्थामै एचपिभी खोप लगाउँदा भविष्यमा क्यान्सर हुने सम्भावना ७० देखि ९० प्रतिशतसम्म नियनत्रण गर्न सकिन्छ । जनस्वास्थ्य कार्यालयले एचपिभी खोप पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र निःशुल्क रहेको र खोप लगाएपछि सामान्य ज्वरो वा सुई लगाएको ठाउँमा हल्का दुखाई देखिन सक्ने भए पनि गम्भीर समस्या नदेखिने बताइएको छ ।

कार्यालयले एचपिभी खोप अभियानलाई सफल बनाउन स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ । साथै हाल कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरू लाई पनि यस खोप कार्यक्रममा समावेश गराइने जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको