२१२६ किशोरीहरुलाई लगाइयो एचपिभि खोप

– छुटेकालाई १५ दिनभित्र लगाइने
लोकखवर स्वास्थ्य संवाददाता
२०८२ फाल्गुन २, शनिबार ००:११

बिदुर– सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सन्चालन गरेको एचपिभी खोप अभियान नुवाकोटमा सम्पन्न भएको छ । तीन दिनसम्म सन्चालित उक्त खोप अभियानमा छुटेका किशोरीहरुलाई १५ दिनभित्र उक्त खोप लगाइने जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । गत २०८१ सालदेखि एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेसँगै १२ स्थानीय तह रहेको नुवाकोटमा तीन दिनसम्म सन्चालित विद्यालय केन्द्रीत खोप सम्पन्न गरिएको कार्यालय प्रमुख डा. अन्जु कार्कीले जानकारी दिइन् ।

उनका अनुुसार कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई तीन दिनसम्म उक्त खोप लगाइएको हो । जसमध्ये दुईहजार एकसय ९० जना किशोरी विद्यालय जाने र २२ जना विद्यालय नजाने किशोरीहरुसमेत गरि कुल दुईहजार दुईसय १२ जना किशोरीहरुलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएकोमा अभियानका क्रममा ९६ प्रतिशत किशोरीहरुलाई उक्र खोप लगाइएकोे डा. कार्कीले जानकारी दिइन् । उनका अनुसार विद्यालयको कक्षा ६ मा अध्ययनरत दुईहजार एकसय आठ जना तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका १८ जनासहित कुल दुईहजार एकसय २६ जना किशोरीहरुलाई उक्त खोप लगाइएको छ ।

उक्त खोप लगाउनका लागि स्थानीय तहका दुईसय ८४ जना स्वास्थ्यकर्मी र विद्यालय नर्स तथा स्वंसेवक एकसय ३० जना गरि कुल गरि चारसय १४ जना स्वास्थ्यकर्मी परिचालित भएका थिए । बिदुर नपामा पांचसय ५३, वेलकोटगढी नपामा दुईसय ९५, दुप्चेश्वर गापामा दुईसय ४३, ककनी गापामा एकसय ९८, तादी गापामा एकसय ६७, लिखु गापामा एकसय ४३, शिवपुरी गापामा एकसय २४, सुर्यगढी गापामा एकसय १६, तारकेश्वर गापामा एकसय १५, म्यागङ गापामा ९९, पन्चकन्या गापामा ९०, र किस्पाङ गापामा ६९ जना किशोरीहरुलाई एचपिभी खोप लगाउनका लागि अभियान सन्चालन गरिएकोमा ति मध्ये ९६ प्रतिशतले खोप लगाएका हुन् ।

खोप लगाउन छटेकाहरुलाई १५ दिनभित्र खोप लगाइने डा. कार्कीले वताइन् । विद्यालय नजाने किशोरीहरुमा वेलकोटगढी नपामा ६, दुप्चेश्वर र ककनी गापामा पांच/पांच जना, म्यागङ र तादी गापामा दुई/दुई जना, बिदुर नपामा एक र किस्पाङ गापामा रहेका एक जना गरि २२ जनालाई उक्त खोपमा समावेश गरिने लक्ष्य रहेकोमा अभियानमा १८ जना समेटिएको डा. कार्कीले वताइन् । ८८ वडा रहेको नुवाकोटमा हाल नियमित तथा मासिक रूपमा खोप केन्द्रहरूसमेत सञ्चालन भइरहेका छन् ।

तथ्याङ्कअनुसार पहाडि संरचना रहेको नुवाकोटमा दुईसय १६ केन्द्र विद्यालयमा, बाह्य ९० र स्वास्थ्य संस्थामा एकसय एक केन्द्र गरि कुल चारसय सात खोप केन्द्र कायम रहेका छन् । तीन तीन यो कार्यक्रम भने विद्यालय केन्द्रीत खोप अभियान हो । विद्यालय वाहेकका केन्द्रहरूबाट मासिक रूपमा हजारौँ बालबालिका र महिलाहरू लाभान्वित भइरहेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत किशोरीहरू तथा विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई लक्ष्यित गरी एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरी खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन, अभिमुखीकरण तथा समुदायस्तरमा सचेतनालाई प्राथमिकता दिइएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

एचपिभी एक प्रकारको भाइरस भएको र यसका कारण पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यधिक हुन्छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको छ । स्वास्थ्यकर्मीका अनुसार किशोरावस्थामै एचपिभी खोप लगाउँदा भविष्यमा क्यान्सर हुने सम्भावना ७० देखि ९० प्रतिशतसम्म नियनत्रण गर्न सकिन्छ । जनस्वास्थ्य कार्यालयले एचपिभी खोप पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र निःशुल्क रहेको र खोप लगाएपछि सामान्य ज्वरो वा सुई लगाएको ठाउँमा हल्का दुखाई देखिन सक्ने भए पनि गम्भीर समस्या नदेखिने बताइएको छ ।


सर्वाधिक रुचाइएको