जन्तरेगढीमा वृहत शैैक्षिक अन्र्तक्रिया
बिदुर– नुवाकोटको पश्चिमी भेगमा रहेको जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया तथा असल अभ्यास आदानप्रदानसहितको शिक्षक शिक्षिका पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । युग र भेग सुहाउंदो शिक्षा पद्धति आवस्यक रहेको सहभागीहरुले वताए । तारकेश्वर गाउँपालिकाको उचाइमा रहेको जन्तरेगढीमा शनिवार बृहत शैक्षिक अन्तरक्रिया तथा असल अभ्यास आदानप्रदानसहितको शिक्षक शिक्षिका पुर्नमिलन कार्यक्रम गरिएको हो ।

तारकेश्वर गापा शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित बृहत शैक्षिक अन्तरक्रिया तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका विद्यालय कर्मचारी तथा शैक्षिक सम्वन्धि कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । स्थानीय जन्तरेगढी युवा क्लबले व्यवस्थापकीय रुपमा सहयोग गरेको कार्यक्रमको तारकेश्वर गापा अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शिव अधिकारी अविरलले उद्घाटन गरेका हुन् । उनले शैक्षिक सुधारको अभियानअन्तर्गत आफूले गापाबाट अगाडि बढाएका विभिन्न कार्यहरूको स्मरण गर्दै त्यसैको एउटा प्रयासका रुपमा असल अभ्यास आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

शिक्षाको गुणस्तर विकासका लागि शिक्षकहरूको अन्तरक्रिया सीप र योजनाहरूको आदानप्रदान र विद्यालयहरूमा सञ्चालन भइरहेका शैक्षिक क्रियाकलापहरूको समीक्षा आवश्यक रहेको जनाउंदै अध्यक्ष अधिकारीले यस्ता कार्यक्रमले शिक्षकहरूको वृहत विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । परम्परागत अध्ययन भन्दा सांस्कृतिक ऐतिहासिक र प्राकृतिक सम्पदाहरूको प्रत्यक्ष अध्ययन अवलोकनबाट प्राप्त हुने ज्ञान नै शिक्षक र विद्यार्थी दुवैका लागि प्रभावकारी हुने अध्यक्ष अधिकारीले वताए । उनले शैक्षिक विकासका लागि विद्यार्थीहरूका लागि पनि वर्षमा एकपटक शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम सञ्चालन गर्दै आएको र शिक्षकहरूका लागि पनि ऐतिहासिक सम्पदाहरूको अध्ययन अवलोकनको कार्यक्रम लाई प्राथमिकतामा राखिएको वताए ।

तारकेश्वरकै शिरको रूपमा रहेको र तत्कालीन वाइबाहरूको दरबार समेत रहेको ऐतिहासिक महत्वको र पर्यटकीय हिसाबले पनि निकै ठूलो सम्भावना बोकेको जन्तरेगढीमा शिक्षकहरूको बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिदा त्यसले शिक्षकहरूको ज्ञान र अध्ययनमा मात्र नभई शिक्षकहरू मार्फत विद्यालयहरूमा हुने शैक्षिक गतिविधिमा र त्यसभन्दामाथि पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत उल्लेख्य योगदान पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा क्षेत्रमा सहयोग पु¥याएकाहरुलाई सम्मानित गरिएको छ । अध्यक्ष अधकिारीले आयोजकका तर्फवाट दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेर सम्मानित गरे ।

अध्यक्ष अधिकारीले शिक्षकहरू विद्यार्थीहरूको मात्र नभई सिङ्गो समाजकै मार्गदर्शक भएकाले समाजको चेतना स्तरको अभिवृद्धिमासमेत शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिकाले शिक्षक वर्गलाई सर्वोच्च पुँजीका रुपमा ग्रहण गरेको र शिक्षकहरूको समस्याको समाधानका लागि आफू सधैँ तयार रहेको बताए । कोही शिक्षक शिक्षिका विभिन्न समस्यामा रहेको अवस्था भएमा गाउँपालिकाको शिक्षा शाखामा समन्वय गरी समस्याका सम्वन्धमा निवेदन दिनुहुन आग्रह गर्दै अध्यक्ष अधिकारीले हाल निर्वाचन आचारसंहिताका कारण सरुवा सम्भव नहुने भएकाले चुनाव लगत्तै मर्कामा परेका शिक्षकहरूको सहुलियतका लागि सरुवाको व्यवस्था गर्न आफू तयार रहेकासमेते बताए ।

विगतमा लामो समयसम्म एउटै स्थानमा कार्यरत रहँदा शिक्षकहरूमा गतिशीलताको कमी आएको विभिन्न अध्ययनको निष्कर्ष रहेकाले आफुले उक्त निर्णय गरेको अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार तारकेश्वर गापाले एकपटकका लागि सबै शिक्षकको सरुवा गर्ने नीति लिएको स्पष्ट पार्दै अब हुने सरुवाहरूमा भने शिक्षकहरूको पायक र सहजतालाई प्राथमिकतामा राखिने विश्वास व्यक्त गरे ।





























































