चलचित्रकर्मीलाई घोडचढी तालिम प्रदान
बिदुर– चलचित्रकर्मीहरुका लागि सन्चालित घोडचढी तालिम सम्पन्न भएको छ । चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्तर्गत उक्त घोडचढी तालिम प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डको आयोजनामा पहिलो पटक भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्ष्यित विशेष घोडचढी तालिम सम्पन्न भएको हो ।

बोर्डले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२” अन्तर्गत आयोजित उक्त तालिम सात दिनसम्म दैनिक ३ सिफ्टमा सञ्चालन गरिएको थियो । तालिममा ७ जना प्रशिक्षकले ७ थान घोडाको व्यवस्थासहित व्यवस्थित प्रशिक्षण प्रदान गरिएको थियो । ऐतिहासिक, पौराणिक तथा युद्धप्रधान कथावस्तुमा घोडचढी अनिवार्य हुने भएकाले कलाकारहरूलाई सुरक्षित र व्यवसायिक अभ्यासमार्फत दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले वताए ।

उनले सहभागी कलाकारहरूले घोडचढी, सन्तुलन, स्टन्ट सुरक्षा तथा शारीरिक अनुशासन सम्बन्धि व्यवहारिक ज्ञान हासिल गरेकामा चलचित्रमा प्रस्तुत गनृ मद्धत पुगेको वताए । उनले विदेशमा अभिनयको पाठ्यक्रममा सहायक अभिनय क्षमता अभिवृद्धिको लागि घोडाचढि, पौडी, गाडी, बाईक, नृत्य र द्धन्द समेत पढाई हुने गरेकोमा नेपालमा भने वोर्डले तालिमवाट यसको सुरुवात गरेको वताए ।

नेपालमा केहि समय पहिले केहि फिल्म कलेजले यस्ता अध्ययनको प्राक्टिकलको रुपमा सुरु समेत गरेका थिए भने हाल विविध कारणले रोकिएको छ । अन्तर्राष्ट्रिय फिल्म उद्योगमा यस्ता तालिम दीर्घकालीन तयारीको अभिन्न अंग मानिने वोर्डले जनाएको छ । पहिलो चरणमा उक्त तालिम लिएका सहभागीहरुमा विजय बराल, कविता नेपाली, विशाल पहाडी, सरिता भारती, गोपाल ढकाल (छन्दे), एवन उप्रेती, श्रीदेव भट्टराई, दिनेश खड्का, नाजिर हुसेन, अरुणबहादुर स्याङ्तान ‘लामा’र रमेशचन्द्र सोडारीको सहभागिता रहेको थियो ।

घोडचढीको अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै नेपाली चलचित्रकर्मीलाई प्रतिस्पर्धी र सुरक्षित बनाउने लक्ष्य बोर्डले अघि सारेको जनाएको छ । अध्यक्ष डिसीले सीप विकासलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने वताउंदै सिमित बजेटभित्र, स्पष्ट उद्देश्यसहित सञ्चालन गरिएको तालिमले भविष्यमा दुर्घटना न्यूनीकरण, स्टन्ट सुरक्षा सुदृढीकरण तथा गुणस्तरीय दृश्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहभागी कलाकारहरूले “सिकेको सीप भोलिको सुरक्षित र प्रतिस्पर्धी नेपाली सिनेमा निर्माणको आधार हो” भन्दै घोडचढी तालिमले आफूहरूलाई ऐतिहासिक र एक्शनप्रधान चलचित्रमा विश्वसनीय रूपमा प्रस्तुत हुन आत्मविश्वास दिएको बताए ।

यसअघि भारतबाट प्रशिक्षक ल्याएर डल्वी एटमस साउण्ड मिक्सिङं तालिम प्रदान गरेको बोर्डले छिट्टै विदेशी प्रशिक्षकको साथ, लाईट –ग्याफर तालिम, प्रोस्थेटिक मेकअप तालिम, साउण्ड डविङ तालिम र ड्रोन अपरेटर तालिम सञ्चालन गर्ने तयारी गरेको छ । उक्त तालिमहरु सिनेमा क्षेत्रमा संम्बन्धित विद्यामा रहेका चलचित्रकर्मिको दक्षता अभिवृद्धि गर्ने उद्धश्यसहित चलचित्रसंग संवन्धित संस्थासँगको सहकार्यमा बोर्डले आयोजना गर्ने छ ।

दक्षता अभिवृद्धि वर्ष अन्तर्गत सञ्चालन भइरहेका अन्य ध्वनि, छायांकन, पटकथा तथा डिजिटल प्रविधिसम्बन्धि कार्यक्रमसँगै यो पहलले नेपाली चलचित्र उद्योगलाई व्यावसायिकता र विश्वस्तरीय अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको वोर्डले जनाएको छ । वोर्डले नेपालको चलचित्रको अन्र्तराष्ट्रिय प्रवद्र्धनका लागि अन्र्तराष्ट्रिय फिल्म फेष्टिवलहरुसमेत गर्दै आएको छ ।














































