मकवानपुरमा यसरी सम्झिइयो सुवर्ण शमशेर राणालाई
मकवानपुर । नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापक अध्यक्ष, आधुनिक नेपालका प्रथम अर्थमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका संस्थापक उपकुलपति तथा नेपाली कांग्रेसका पूर्वसभापति सुवर्ण शमशेर राणाको १०८ औं जन्मजयन्ती मकवानपुरमा मनाइएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सचिव आनन्द कठायतको अध्यक्षतामा भएको जन्मजयन्ती कार्यक्रममा राणाले नेपालको क्रान्ती सफल बनाउन अतुलनीय योगदान पुर्याएको चर्चा गरियो । विश्वेश्वरप्रसाद कोइराला नभएको भए २००७ सालको जनक्रान्ति सम्भव नभएको र त्यो क्रान्तिमा सुवर्ण शमशेर नलागेको भए सफलता प्राप्त नहुने कार्यक्रममा बक्ताहरुले प्रष्ट पारे ।
२००७ सालको क्रान्तिमा निरंकुश राणाशासनका विरुद्ध जनक्रान्तिका पक्षमा जनतालाई जागृत गर्न बर्माबाट मान्छेले खर्पन वा डोकोमा बोकेर हातहतियार ल्याउने कुरा नभएको बताउँदै वक्ताहरुले मुक्तिसेनाको गठन, तालिम र बन्दोबस्ती गर्नेदेखि पार्टी संगठन परिचालन तथा काठमाडौं उपत्यकालगायत देशभर आकासबाट पर्चा छर्न राणाकै हवाइजहाजबाट संभव भएको बताए ।
२००३ सालमा बीपीको अगुवाइमा गठन भएको नेपाल राष्ट्रिय कांग्रेस र २००५ सालमा सुवर्ण शमशेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेस २००६ साल चैत २७ गते एकीकरण भएर २००७ सालको जनक्रान्ति सफल भई २०१७ पुस १ गते राजा महेन्द्रको निरंकुश कदम विरुद्ध सुवर्णको नेतृत्वमा सशस्त्र क्रान्ति भएको स्मरण कार्यक्रमा गरियो ।
काङ्ग्रेस मकवानपुर जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, जिल्ला सदस्य राजीव सुवेदी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटी लगायतको कार्यक्रममा सहभागिता थियो ।