मतदानका लागि आइपुगे सामग्रीहरु
बिदुर– यहि फागुन २१ गतेकोे प्रतिनिधि सभा निर्वाचनको लागि नुवाकोटमा मतदानका सामग्रीहरु आइपुगेका छन् । मतपत्रवाहेकका सवै सामग्रीहरु आएका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ५० प्रकारका मतदानका सामग्रीहरु आएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।उनका अनुसार अव नुवाकोटका लागि मतपत्र मात्र आउन वांकी रहेको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा निर्वाचनका लागि छेकावार, मसी, स्वस्तिक छाप, कलम, डोरी, टेपलगायतका ५० प्रकारका सामग्रीहरु आइसकेको छ । नुवाकोटका दुईसय ९३ मतदान केन्द्रमा रहेका मतदातालाई लक्ष्यित गरेर मतदानका सामग्रीहरु नुवाकोटको बिदुर आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटका लागि आवस्यक मतपेटिकाहरु पहिलेकै मौज्दात रहेको र त्यसवाहेकका मतदानका लागि चाहिने सामग्रीहरु आइसकेको जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए ।

उनका अनुसार मतदानका सामग्रीहरु रुजु गर्ने कार्य भइरहेको छ । यसपटकको निर्वाचनमा नुवाकोटमा दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । जसमध्ये महिला एकलाख १८ हजार नौसय ७५, तीन जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहाडि संरचना रहेको नुवाकोटमा एकसय ३३ मतदानस्थल, दुईसय ९३ मतदान केन्द्र तथा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
नुवाकोटको क्षेत्र नं. १ मा १३ दल र पांच स्वतन्त्रसहित १८ तथा नुवाकोट २ मा १२ दलका १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । उम्मेदवारहरु मत माग्नका लागि जनताको घरदैलोमा पुगिरहेका छन् । कोणसभालगायतका कार्यमा उम्मेदवारहरु व्यस्त रहेका छन् ।












































