त्रिशूली अस्पताललाई खोप प्रदान
बिदुर – त्रिशूली अस्पताललाई नुवाकोटको बिदुर नगरपालिकाले एआरभी खोप प्रदान गरेको छ । सर्वसाधारको लागि उक्त खोप प्रदान गरिएको हो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्धेश्यले बिदुर नपाले आफ्नो कार्य क्षेत्रमा रहेको त्रिशूली अस्पताललाई एआरभी खोप खोप सहयोग स्वरुप उपलव्ध गराएको हो ।

बिदुर नपाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले उक्त खोप शनिवार अस्पताललाई हस्तान्तरण गरेका हुन् । बिदुर नपाको तर्फबाट त्रिशूली अस्पतालमा आवश्यक रहेको एआरभी खोपका २० डोज तत्कालका लागि प्रदान गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । नपाले यसअघि पनि त्रिशूली अस्पतालाई आवस्यक विभिन्न खोप तथा औषधि, उपकरण प्रदान गर्दै आइरहेकोमा हाल तत्कालका लागि एआरभी खोप उपलव्ध गराईएको मेयर श्रेष्ठले वताए ।
एआरभी रेबिज विरुद्ध दिइने खोप हो भने रेबिज एक घातक भाइरल रोग जुन संक्रमित कुकुर, बिरालो, बाँदरलगायतका जनावरले टोकेपछि सर्ने भएकाले एआरभी जनावरले टोकेपछि समयमै लगाइएमा रेबिजबाट ज्यान जोगाउन सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ । रेबिज संक्रमण सुरु भएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप नै जीवनरक्षक उपाय भएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । उक्त खोपले आकस्मिक अवस्थामा आवश्यक पर्ने खोपको उपलब्धतामा थप सहजता हुने विश्वास गरिएको त्रिशूली अस्पतालले जनाएको छ ।













































