रास्वपा केन्द्रीय नेताले दल त्यागे
बिदुर– नुवाकोटमा उम्मेदवारीको समयदेखि नै असन्तुष्ट रहेकाहरुले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिन थालेका छन् । सो दलका जिल्ल्लास्तरिय दुई नेताले दल छाडेको भोलीपल्टै अर्का एक युवा नेताले पार्टी त्यागेका छन् ।
रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य बिदुर नगरपालिका ५ माझिटारका ४८ वर्षिय दिनेशकुमार आचार्यले पार्टी परित्याग गरेका छन् । उनले सार्वजनिक गरेको दुई पेज लामो राजीनामा पत्रमा रास्वपाको सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

तीन वर्षदेखि नै सो दलमा लागेका आचार्य रास्वपा केन्द्रीय वित्त विभाग सदस्य हुन् । आचार्यले आफ्नो राजनीतिक यात्रा, विचारधारागत असन्तुष्टि, पार्टीभित्र देखिएका अभ्यास र आत्मिक असहजताका कारण पार्टी छाड्ने निर्णय लिनुपरेको बताएका छन् ।
उनले रास्वपा पार्टीभित्र काम गर्दा देखिएका अभ्यास, विचारभन्दा व्यक्ति केन्द्रीत प्रवृत्ति, आक्रोश र विभाजनका भाषणहरूले निराश बनाएको र पार्टीभित्र नैतिकता र स्पष्ट राजनीतिक विचारधाराको अभावसमेत रहेको ठहर गर्दै दल त्यागेको वताए । उनले अब आफु तत्काल कुनै पार्टीमा संलग्न नहुने, सामाजिक र व्यवसायिक क्षेत्रमा सक्रिय रहेर नुवाकोटको माटो र जनताको पक्षमा उभिन उल्लेख गरेका छन् ।

आचार्यलगायतले नुवाकोट २ मा गत २०७९ सालका उम्मेदवार सुमनविक्रम पाण्डेलाई उम्मेदवार नबनाएपछि असन्तुष्टि जनाउंदै आएका थिए । रास्वपाले भुगोलमा नवसेका अचुुतम लामिछानेलाई उम्मेदवार वनाएपछि आचार्यसहित एउटा समूह असन्तुष्ट रहेको थियो ।
असन्तुष्ट मध्ये महाधिवेसन प्रतिनिधि कमला रावलपाण्डे, जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्ज अशोककुमार थापाले रास्वपा छाड्सिकेका छन् । यद्यपि आफ्नो उम्मेदवारी रोकिएपछि सुमनविक्रम पाण्डे नै आफ्ना नजिकका हितैसीहरुसंग उक्त दलको गुनासो गर्दै आएका छन् ।












































