गाउंका महिलाहरुको स्वास्थ्य परिक्षण

– पाठेघरको स्क्रिनिङ सेवा
लोकखबर
२०८२ फाल्गुन १३, बुधबार २३:५३

बिदुर– गाउंका महिलाको स्वास्थ्य सुविधाका लागि नुवाकोटको गोस्र्याङमा पाठेघरको क्यान्सरको पहिचानसहितको स्वास्थ्य शिविर गरिएको छ । महिलाहरुले लाभ लिएका छन् । तारकेश्वर गाउँपालिकाले महिलाहरुको पाठेघरको क्यान्सर लगायत विविध स्वास्थ्य समस्याको पहिचान र उपचारका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको हो ।

शिविरमा विशेष गरी महिलाको आङ झर्ने (पाठेघर खस्ने) समस्या, पाठेघरको स्क्रिनिङ, क्यान्सर सम्बन्धि परिक्षण तथा नसर्ने रोगहरूको चेकजांचसमेत गरी समस्याको पहिचान, उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो । यसका साथै महिलाहरुको गम्भीर समस्याको उपचारका लागि आर्थिक सहयोगसहित सुविधायुक्त अस्पतालमा सिफारिससमेत गरिएको तारकेश्वर गापा कार्यालयले जनाएको छ । तारकेश्वर ५ स्थित गोस्र्याङ स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरको गापा अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरेका हुन् ।

उनले महिला स्वास्थ्य सुरक्षा, सशक्तीकरणको अभियान चलाइरहेको गापाले महिला स्वास्थ्यको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गरिरहेको बताए । स्वास्थ्य नै धन हो’ भन्ने मुल लक्ष्यका साथ अध्यक्ष अधिकारीले स्वास्थ्य ठिक रहे मात्र आर्थिक र सामाजिक उन्नतीको दिशामा अघि बढ्न सकिने भएकाले आफ्ना स्वास्थ्य समस्याहरू नलुकाई बेलैमा परीक्षण गरेर उपचार गराउन महिलाहरूमा विशेष आग्रह गरे । अध्यक्ष अधिकारीले कतिपय स्वास्थ्य समस्याको लक्षण अन्तिम अवस्थामा मात्रै देखिने र सुरुवाती चरणमै समस्याको पहिचान हुन सके उपचार सहज हुने भएकाले रोगको लक्षण कुरेर बस्न नहुने र सबै महिलाले नियमित रूपमा पाठेघरको स्क्रिनिङ गर्नुपर्ने बताउँदै आफ्नो गाउँठाउँमै स्वास्थ्य सेवाको लागि स्क्रिनिङको सुविधा उपलब्ध गराइएको वताए ।

उनले यस प्रकारको शिविर सबै वडामा क्रमशः सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए । शिविरमा विशेषगरी आङ झर्ने (पाठेघर खस्ने) समस्या, पाठेघरको स्क्रिनिङ, क्यान्सर सम्बन्धि भिआइए जाँच, नसर्ने रोगहरूको परीक्षण, सामान्य समस्याको उपचार तथा परामर्श, गम्भीर बिरामीलाई आर्थिक सहयोगसहित सुविधा सम्पन्न अस्पतालमा सिफारिसलगायतका सेवाहरू प्रदान गरिएको तारकेश्वर गापा स्वास्थ्य शाखाले जनाएको छ ।


सर्वाधिक रुचाइएको