१६ सय वढि एमाले प्रवेश
बिदुर– यहि फाागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा उम्मेदवारी दिएकाहरुको चुनावी अभियान रोचक देखिएको छ । सोमवार मध्य रातीदेखि मत माग्न मतदातामाझ जाने क्रम सकिएको छ । पछिल्लो समय नुवाकोट–१ मा विभिन्न दल परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको संख्या सोमवारसम्म एक हजार ६ सय २७ पुगेको एमाले नुवाकोटले जनाएको छ ।

काँग्रेस, नेकपा, रास्वपा तथा अन्य दलका मतदाता, पदाधिकारी, सदस्य तथा जिम्मेवार व्यक्तिहरू एमाले प्रवेश गरेको सचिवालय सदस्य दीपक कार्कीले जनाएका छन् ।
उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा आगामी निर्वाचनको अंकगणितीय चित्र हेर्दा यसपटक प्रतिस्पर्धा नयाँ मोडतर्फ उन्मुख देखिएको छ । एमालेमा बहालवाला वडाध्यक्षदेखि जेन–जी पुस्ताका युवा र विद्यार्थीसमेत प्रवेश गर्नुले संगठन थप बलियो बनेको एमालेको दाबी छ । संगठानिक आधार र पार्टी प्रवेशको लहरले एमाले उम्मेदवार बद्री मैनाली उत्साहित भएका छन् ।

गत २०७९ सालको निर्वाचन परिणाम, समानुपातिक मतको अवस्था, पछिल्लो समय बढ्दो पार्टी प्रवेश र स्थानीय राजनीतिक असन्तुष्टिलाई आंकलन गर्दा एमाले उम्मेदवार बद्री मैनाली अहिलेको समीकरणमा अगाडि देखिएको एमाले १ नं. क्षेत्रिय अध्यक्ष सुशीलकुमार खड्काले वताए । खड्काले अगाडि भने–गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका थिए ।

त्यसवेला पाँच दलीय गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले २६ हजार ५ सय ४८ मत ल्याएर जित हात पारे पनि मतान्तर झण्डै तीन हजार मात्र थियो ।गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा पनि एमाले उम्मेदवारको मत उल्लेख्य रहनुले व्यक्तिगत प्रभाव र संगठनात्मक बल दुवै स्पष्ट देखाएको विश्लेषण गरिएको क्षेत्रिय अध्यक्ष खड्काको भनाई छ । तीन वर्ष अगाडि समानुपातिकतर्फ नुवाकोट १ मा नेकपा (एमाले) ले १६ हजार २ सय ६७ मत ल्याएको थियो ।

नेपाली काँग्रेसले १५ हजार ७ सय ५१ र तत्कालीन ाओवादी केन्द्रले १५ हजार १ सय २७ मत पाएको थियो । यसले गर्दा क्षेत्र नं. १ मा एमालेको संरचनागत आधार बलियो रहेको संकेत दिएको एमाले वागमति प्रदेश कमिटि सदस्य वलराम आचार्यको भनार्ई छ । सो चुनावमा रास्वपाले ६ हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा त्यो संख्या बढ्न सक्ने आकलन भइरहँदा यसको प्रत्यक्ष असर परम्परागत दलहरूको मतमा पर्ने राजनीतिक विश्लेषण छ ।

एकल प्रतिस्पर्धाको अवस्था बनेमा यसले मैनालीलाई प्रत्यक्ष फाइदा पुग्ने आँकलन गरिँएको एमालेका वागमति प्रदेश सदस्य काशीनाथ अधिकारीको भनाई छ । सोमवार मात्र लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी तथा अन्य विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार बद्री मैनालीले नवप्रवेशीहरूलाई खादा लगाएर हार्दिक स्वागत गरे ।

मैनालीले एमालेको नीति, सिद्धान्त र राष्ट्रवादी अडान र आफ्नो योजनाप्रति आकर्षण बढ्दै गएको बताउँदै नवप्रवेशीहरूबाट संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे । नवप्रवेशीहरूले देशको समृद्धि, स्थिरता र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै पार्टीको नीति तथा कार्यक्रमलाई जनतामाझ पु¥याउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् । नुवाकोट–१ नं. निर्वाचन क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी सोमवारसम्म एकहजार ६ सय २७ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले नुवाकोट क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका अनुसार काँग्रेस, नेकपा, रास्वपा, राप्रपालगायत विभिन्न दलका पदाधिकारी, भातृसंगठनका नेतृत्व, पालिका तथा वडा कमिटीका पदाधिकारी, बहालवाला निर्वाचित वडा अध्यक्ष तथा नवमतदातासहितको जम्बो टोली एमालेमा प्रवेश गरेका हुन् । जसअनुसार एमालेमा प्रवेश गरेकाहरुमा पालिका अनुसार दुप्चेश्वर गापामा ३ सय ९४ जना, ककनी गापामा ३ सय ७ जना, सूर्यगढी गापामा ३ सय ३ जना, शिवपुरी गापामा १ सय ५ जना, लिखु गापामा ९७ जना, तादी गापामा ७२ जना र पञ्चकन्या गापामा ६७ जना रहेको एमाले क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

यसैवीच, सो क्षेत्रमा एमालेमा जेनजी पुस्ता, नवयुवा तथा तटस्थ व्यक्तिसहित थप २ सय ८२ जना एमालेमा प्रवेश गरेका छन् । निर्वाचन परिचालन कमिटीका संयोजक सुशील खड्काका अनुसार प्रवेश गर्नेहरू मध्ये ६७ प्रतिशत युवा रहेका छन् ।













































