नुवाकोट २ मा आआफना मत जोगाउंदै  दलहरु

कांग्रेस विरासत जोगाउने दौडमा, एमाले जित निकाल्ने पक्षमा, नेकपा असन्तुष्ट खोज्दै, रास्वपा विकल्पको खोजीमा
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १८, सोमबार २३:४४

बिदुर फागुनको मध्यमा चिसो मौसम भएपनि अहिले नुवाकोटको भने राजनीति तातिएको छ । राजनीतिको तापक्रम नुवाकोटमा अन्यत्र भन्दा कम छैैन ।  चिसो ठण्डीमा नुवाकोटको राजनीति अन्यत्रजस्तै गर्माएको छ । यहि फागुन २१ गते विहीवारको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति जति नजिकिदै छ, नुवाकोटको राजनीतिसमेत हतारिएको छ ।

सदरमुकाम बिदुर समेटिएको नुवाकोटको क्षेत्र नं. २ को निर्वाचन माहौल यस पटक तातो अनि फरक देखिएको छ । मुख्य दलका अनुहार परिचित भए पनि उनीहरुलाई आफ्नो मतदाता जोगाउनुपर्ने स्थिति आएको छ ।  नुवाकोटको सदरमुकाम बिदुर समेटिएको क्षेत्र नं. २ मा उम्मेदवारी दिएका दलहरु आआफ्नै चुनावी अभियानमा व्यस्त रहेका छन् । यस क्षेत्रमा विरासत जोगाउने दौडमा कांग्रेस रहेको छ भने विरासत फिर्ता गर्ने दाउमा एमाले रहेको छ ।

 

विगतमा सत्ता साझेदारीसमेत गरिसकेका दुवै दललाई नेकपासहित नयां दलको प्रवेशले चुनौती थपिएको छ । सो क्षेत्रमा रहेका दलका उम्मेदवारहरुले मुख्य चुनावी अभियान पुरा गरिसकेका छन् ।  यो क्षेत्रमां सवै दलका नयां उम्मेदवार खडा गरिएका छन् । यो क्षेत्रमा मुख्यसहित १२ वटा दलवाट उम्मेदवार चुनावी मैदानमा छन् ।  यस क्षेत्रमा तीन वर्ष अगाडि अर्थात २०७९ को निर्वाचन जितेका कांग्रेसका अजुननरसिहं केसी यस पटक समानुपातिकमा रहेका छन् । यस पटक कांग्रेसले पुर्व जिल्ला सभापति तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार वनाएको छ ।

सदरमुकाम समेटिएको विदुर नपामा गत स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादी गठवन्धनसंग एक्लै निर्वाचन लडेको एमालेले यतिखेर आफ्नो मत सम्हाले मात्रै पनि पुग्ने र उसका लागि मतदानमा यहि रणनीति कार्यान्वयन गर्न सक्नुपर्ने चुनौती रहेको एमालेजनहरुकोे भनाई छ । त्यसवेला विदुर नपामा एमालेको वहुमत कार्यपालिका सदस्य, वहुमत नगर सभामा जितेर पनि मेयर, उपमेयरमा पराजित हुनुका साथै १३ मध्ये पांच वटा वडामा मात्र वडाध्यक्ष विजयी भएका थिए ।  ठूला पार्टीको भोट बाँडिँदा जितका लागि मत पर्याप्त नहुन सक्ने आंकलन गर्दै मुख्य दल एमाले, कांग्रेस, नेकपा, रास्वपाका उम्मेदवारहरु मतदातामाझ गएका हुन् ।

 

बेलकोटगढी नपामा तत्कालीन कांग्रेस माओवादीको गठवन्धनमा मेयरमा माओवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।  उक्त नगरको भोट सम्हाल्दै एमालेले आफुलाई केहि मत वढाउनु पर्ने लक्ष्यसहित क्रियाशील रहेको एमाले वेलकोटगढीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले वनाए ।  नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा कम भिजेका व्यक्तिलाई उम्मेदवार वनाएको आरोप खेपिरहेको रास्वपाका अगाडि एमाले, कांग्रेस, नेकपा तीनै दलहरुले भने सहज भएको महसुस गरेका छन् ।

वैकल्पिक र नयां शक्तिका रुपमा आएको दल रास्वपाले नुवाकोट १ मा विक्रम तिमिल्सिना र नुवाकोट २ मा काठमाडौंको टोखा नगरपालिका ८ का अचुतम लाछिानेलाई उठाएपछि मुख्य दलहरु हौसिएका छन् ।  रास्वपाका तिमिल्सना र लामिछाने पहिलो पटक निर्वाचनमा उठेका हुन् ।  तीन वर्ष अगाडि रास्वपाले नुवाकोट २ मा सुमनविक्रम पाण्डेलाई उठाएको थियो । कांग्रेस माओवादी गठवन्धनका अर्जुननरसिह केसीसंग निकटतम प्रतिद्वन्दी भएका पाण्डेले यस पटक पनि टिकट पाउने आशामा रहेका थिए । तर, उनी टिकट नपाएपछि उक्त दलसंग असन्तुष्ट रहेका थिए ।

कांग्रेसले नुवाकोट २ मा यस पटक दुप्चेश्वर गापा ३ राउतवेसी घर भएका जगदीश्वरनरसिंह केसीलाई उठाएको छ । उनी संविधान सभाका सदस्य हुन् ।  गत २०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवार केशवराज पाडेसंग केसी नुवाकोट २ को १ मा पराजित भएका थिए । अहिले केसी कांग्रेसवाट र पाण्डे एमालेवाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् ।  पाण्डे वेलकोटगढी नपा १३ मदानपुका स्थायीवासी हुन् । उक्त नपामा गत २०७४ को स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लड्दा एमालेले मेयरसहित वहुमत सदस्यहरु जितेको थियो ।

पाण्डे एमालेलाई सोही अवस्थामा ल्याउनु आफ्नो लक्ष्य रहेको वताउंछन् । कांग्रेसका केसी भने एक्ला एक्लै हुंदा कांग्रेस पछाडि नपर्ने दावी गर्दछन् ।   यद्यपि, तिमिल्सना र लामिछानेको प्रभावलाई पनि एमाले, कांग्रेस र नेकपाले सामान्य आकलन गर्न मिल्दैन ।  विशेष महाधिवेसनको रन्कोमा परेको कांग्रेस एक भएर चुनावमा गएको वताएको छ । यद्यपि, नुवाकोटका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई आफ्नैले पो मत के गर्ला? भन्ने सन्त्रासमा  रहेको सोही दलका कार्यकर्ताहरु वताउंछन् । पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृहजिल्ला भएका कारण नुवाकोटका दुवै क्षेत्रमा राप्रपाका उम्मेदवार पनि मैदानमा रहेका छन् ।

सो दलले नुवाकोट १ मा विमल थापा र २ मा झनकवहादुर प्याकुरेललाई उम्मेदवार वनाएको छ । दल तथा उम्मेदवारहरुले सोमवारदेखि आआफ्नो चुनावी अभियान सकेका छन् ।  कांग्रेसका जगदीश्वरनरसिंह नुवाकोटवासीले चार दशकदेखि चिनिरहेको पात्र हुन्, यद्यपि, प्रतिनिधि सभामा उनको पहिलो उम्मेदवारी हो । उनी कांग्रेस नेता अर्जुनरसिह केसीका भाई हुन् ।

तीन वर्ष अगाडिको निर्वाचनमा कांग्रेस माओवादी गठवन्धनवाट निर्वाचन जितेका अर्जुनरसिह. केसीको विरासत जोगाउनु पर्ने अभिभारा यतिखेर कांग्रेस अनि उम्मेदवार जगदीश्वरनरसिंह केसीको कांधमा आइपरेको छ । पांच दशकदेखि नुवाकोटको राजनीतिमा जरो गाडेका उनका जेठा दाजु अर्जुननरसिंह केसी पटक/पटक उक्त क्षेत्रवाट चुनाव जितेर मन्त्रिसमेत भइसकेका छन् ।  यसअघि उनले १० पटक निर्वाचन लडेर पांच पटक निर्वाचनमा जित निकालेका थिए ।

कांग्रेसमा जगदीश्वरनरसिह केसीको उम्मेदवारी अर्जुननरसिंहको उमेर तथा अभिभावकिय जिम्मेवारीका कारण आफ्नो उत्तराधिकारीको रुपमा उभ्याउन खोजेको कार्यकर्ताहरुको वुझाई छ ।  यस निर्वाचनमा सवै दल एक्लै लडेका कारण कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिह केसीलाई सोचेको जस्तो भने पक्कै छैन । विभिन्न राजनीतिक घटनाक्रमका कारण अहिलेका मतदाता परिवर्तन भएका कारण उनले मत वढाउन विभिन्न रणनीतिहरु तय गर्नुपर्ने देखिन्छ ।

त्यसो त देशमा आफुलाई महत्वपुर्ण दलको रुपमा दावी गर्दै आएको नेकपा एमालेले नुवाकोट २ मा कुटनीति, कानूनका जानकार युवा केशवराज पाण्डेलाई चुनावी मैदानमा उभ्याएको छ । सांढे चार दशक अगाडिदेखि नै विद्यार्थीकालदेखि राजनीतिक यात्रा थालेका पाण्डे वागमति प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानूमन्त्रिसमेत हुन् ।  उनी पनि प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक उम्मेदवार भएका हुन् । हाल एमालेको केन्द्रीय सदस्यका साथै नुवाकोट इन्चार्जसमेत रहेका पाण्डेले पार्टीको विदेश विभाग सचिव भएरसमेत कार्य गरिसकेका छन्  ।

 

उनी पनि सो क्षेत्रमा आफ्नो जित निकाल्न मत थप्नु पर्ने ठहरसहित चुनावी अभियानमा सक्रिय भएका छन् । एमालेले यस क्षेत्रमा गत २०५६ को आम निर्वाचनमा मात्र आफ्नो दलले विजय पाएका कारण यस पटक जित निकाल्नु पर्ने लक्ष्यमा एमाले र उम्मेदवार पाण्डे कम्मर कसेर लागेका छन् ।   उनले आफ्नो प्रतिस्पर्धी कांग्रेस मात्र रहेको दावी गर्दछन् । अन्य उम्मेदवारहरु प्रतिस्पर्धामा आएपनि मतदाताले कामको मुल्यांकन गर्दै वुझिसकेको पाण्डेको भनाई छ ।

पाण्डेले आफ्नो क्षेत्रमा एमालेलाई विगतमा साथ दिने मतदाताले मत दिए मात्रै पनि एमालेको प्रतिनिधित्व गर्दै आफुले जित निकाल्ने दावी गर्छन । अहिले केहि फरक परिस्थिती रहेका कारण उनी असन्तुष्ट कार्यकर्तालाई समेट्नका लागि आफ्नो व्यस्तता वढाइरहेका छन् ।  कार्यकर्ताको मनोभावना वढाउने अभियान लिएर जनतामाझ पुगेको छु, निर्वाचनसम्म जित निकाल्नका लागि मत वढाउने कार्य गरेको छु–पाण्डेले भने । नयां दलहरुले जनतामाझ नचिनिएका उम्मेदवार उठाएका कारण जनताले लामो समयदेखिको घुलमिल भइरहेका उम्मेदवारलाई साथ दिने पाण्डे वताउंछन् ।

यस क्षेत्रमा विदुर नगरपालिका, वेलकोटगढी नपा, तारकेश्वर, किस्पाङ र म्यागङ गापा रहेको छ । नुवाकोटमा प्रमुख दलका उम्मेदवारहरूले चुनावी गतिविधि सम्पन्न गरेका छन् ।  उनीहरु सवैले घरदैलो, भेघघाट, जुलुश, सभा गरिसकेका छन् । निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता, शान्ति र समान अवसर सुनिश्चित गर्न निर्देशन जारी गरे अनुसार आचारसंहिता उलङ्घन नहुने गरी दुवै निर्वाचन क्षेत्रका दल–उम्मेदवारले सभा, घरदैलो भेटघाट र कार्यकर्ता भेला कार्यक्रमलाई प्राथमिकता दिएर मतदातासँग गइसकेका छन् ।

निर्वाचनका लागि नुवाकोट २ मा कांग्रेसवाट जगदीश्वरनरसिंह केसी, नेकपा एमालेवाट केशवराज पाण्डे, नेकपावाट हिरानाथ खतिवडा, रास्वपावाट अच्युतम लामिछाने, राप्रपाका झनकवहादुर प्याकुरेल, मंगोल नेशनल अर्गनाइजेसनका रेन्छेन तामाङ, नेकपा संयुक्तका किरण तिमिल्सिना, नेकपा माओवादीका नवराज ढुंगाना, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले, नेमकिपाका सुवास भट्ट र आम जनता पार्टीका मानसिं गदाइली चुनावी मैदानमा रहेका छन् । कांग्रेस, एमाले र नेकपालाई नयां उम्मेदवार चुनौतीका रुपमा रहेको जनाइएको छ ।

दलका धेरैजसो उम्मेदवारहरुले यस पटक नुवाकोटमा प्रत्यक्ष अन्र्तक्रिया तथा संवाद गरेका  छन् । सबैले विभिन्न गाउँ र बस्तिमा भेटघाट कार्यक्रम सञ्चालन गर्दै मतदातासँग सिधै संवादसमेत गरिरहेका थिए ।  उम्मेदवारले आफ्नो एजेन्डा, स्थानीय समस्या समाधान र विकासका योजना प्रस्तुत गर्दै मतदाता सँगको अन्तरक्रिया बढाइरहेका छन् । नुवाकोट क्षेत्र नं. २ मा पनि प्रमुख दलका उम्मेदवारहरूको अभियान सञ्चालन गरिरहेका थिए ।

गाउँ र नगरहरूमा उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाट र जनसम्पर्कलगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । फागुन २१ गते विहीवार तय भएकोे प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि डेढ महिनासम्म नुवाकोटका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका थिए । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न योजनासहित पुगेका थिए । मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा आवस्यक विकासका गुरुयोजनाको ‘सुनिश्चित’ गर्न माग गरेका छन् ।

पहिलेका निर्वाचनका क्रममा आश्वासन दिने क्रम धेरै भएको र काम अपेक्षाकृत नभएको मतदाताको गुनासो छ । आस्वासनपछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहो¥याउनुपर्ने अवस्था रहेको कारण अव जनताको आवस्यताको विकासको सुनिश्चिततता हुनुपर्ने मतदाताहरु वताउंछन् । २०७९ को वागमति प्रदेश सभा सदस्यमा कांग्रेस माओवादी गठवन्धनसंग चारसय मतले पराजित भएका केशवराज पाण्डे आफु क्षेत्रमा बलियो उम्मेदवार भएको वताउंछन् । एमालेबाट उनी २०७० सालमा नुवाकोट १ वाट प्रतिनिधि सभा सदस्यमा उठेका थिए ।

त्यसवेला कांग्रेसका अजुननरसिह केसीसंग पराजित भएका पाण्डे गत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नुवाकोट २ को ख मा विजयी भएका थिए । उनी तत्कालीन मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्यको कार्यकालमा केहि समय आन्तरिक मामिलामन्त्रि भएका थिए ।  उनी आफुले विगतमा सुरु गरेर वांकी रहेको काम पुरा गर्न आफुलाई जनताले विजयी वनाउनु पर्ने वताउंछन् ।  कांग्रेसका जगदीश्वरनरसिंह केसी पनि अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिएका छन् ।  उनी पनि आफुलाई यस क्षेत्रको बलियो दाबेदारका रुपमा वताउंछन् । यद्यपि, नुवाकोट २ मा एमाले, कांग्रेस, नेकपा र रास्वापाका उम्मेदवारहरुवीच नै मुख्य प्रतिस्पर्धा देखिएको मतदाताहरुको ठम्याई छ ।

रास्वपावाट उम्मेदवार बनेका अचुतम लामिछाने आफुलाई विकल्पसहितको नयां उम्मेदवार दावी गर्छन् ।  उनले पहिले सोही क्षेत्रमा वसेर अध्ययन गरे पनि अहिले काठमाडौँको टोखा  बस्दै आएका छन् ।  नयाँ अनुहार हुनुका साथै सामाजिक सन्जालवाट चर्चा वटुल्दै आएका लामिछानेको उम्मेदवारीले नुवाकोट–२ को चुनावी प्रतिस्पर्धा कांग्रेस, एमाले, नेकपालाई दवाव र  थप रोचक बनाएको छ । विकल्पका लागि नयां भन्ने भाष्य सिर्जना भएको  र पार्टीको बलियो संगठनिक संरचना नभएका कारण  उनको व्यक्तिगत प्रभाव धेरै नपरे पनि उनी आफुलाई परिवर्तनको साधक भन्दै मत मागिरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट हिरानाथ खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । खतिवडा गत २०७४ को प्रदेश सभा निर्वाचनमा नुवाकोट २ को ख मा त्यसवेला एमाले माओवादी गठवन्धवाट विजयी भएका हुन् ।  उनको दल पनि एक्लै चुनाव रहेको र उनले पहिले प्रदेश सभामा गरेको कार्य, पार्टीमा संगठन निर्माण र पार्टीको मत आधारमा रहेर निर्वाचनमा गएका हुन् ।  युवा र प्रतिनिधि सभातर्फ नयाँ उम्मेदवार भए पनि उनी आफुलाई पनि विकल्प ठान्दै जनतामाझ पुगिरहेका छन् । नुवाकोटमा दुइलाख ४७ हजार आठसय ६८ मतदाता छन् । तीमध्ये नुवाकोट २ मा एकलाख २३ हजार नौसय ३९ जना मतदाता छन् ।

तीन वर्ष अगाडिको यस्तो थियो सो क्षेत्रकोे मत परिणामः
प्रत्यक्षमा गठबन्धन भएकाले मत सबैको एकिन थिएन । २०७९ को प्रतिनिधि सभामा क्षेत्र नं २ मा समानुपातिमा नेपाली कांग्रेसले २० हजार ८५ मत पाएको थियो । नेकपा एमालेले १५ हजार दुई सय ४८, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार आठसय ३४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १० हजार चारसय ३४, राप्रपाले चारहजार चारसय चार  र मंगोल नेशनल अर्गनाइजेसनले ६ सय ६७ मत पाएका थिए ।
प्रत्यक्षतर्फ भने क्षेत्र नं २ मा कांग्रेसका अर्जुननरसिंह केसीले २८ हजार १ सय ७ मत पाएर विजयी भएका थिए । उनले कांग्रेस माओवादी गठवन्धनवाट उम्मेदवारी दिएका थिए ।  निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनत्रिक्रम पाण्डेले १६ हजार ४ सय ७७, नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५ सय ६१, राप्रपाका झनकवहादुर प्याकुरेलले एकहजार पांचसय ७१ मत पाएका थिए । रास्वपाका पाण्डेले यस पटक पनि उम्मेदवारी पाउने जनाइए पनि अन्तिममा अचुतम लामिछानेले टिकट पाएका थिए ।
गुरुचेलासंगै प्रतिस्पर्धामाः
नुवाकोटको सदरमुकाम बिदुर समेत रहेको नुवाकोट २ मा यस पटकको निर्वाचनमा गुरुचेला संगै चुनावी मैदानमा छन् । पांच स्थानीय तह समेटिएको यस क्षेत्रमा १२ दलका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  यस क्षेत्रमा नेकपाका उम्मेदवार हिरानाथ खतिवडा र रास्वपाका उम्मेदवार अचुतम लामिछाने गुरुचेला हुन् । खतिवडाले हाल टोखा वसोवास रहेका लामिछानेलाई तुप्चेको विद्यालयमा पढाएका हुन् ।
विदुर नपा ७ तुप्चेस्थित मामाघरमा वसेर चण्डेश्वरी माविमा अध्ययनरत रहेका वेला लामिछानेलाई खतिवडाले तीन वर्ष पढाएका हुन् । अहिले दुवै जना फरक/फरक दलवाट चुनावी भिडन्तमा रहेका छन् । सो क्षेत्रका मतदाताले विगतमा धेरै आश्वासन पाइएको गुनासो गरे ।  तर, अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरे ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।
गुनासो सुनेपछि सवै दलका उम्मेदवारहरुले जनताका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडक निर्माण, खानेपानी, सिचाई निर्माण, सडक कालोपत्रे, विद्युत्, मल, विउ विजनको व्यवस्था, कुलो निर्माण, ह्युमपाइप राख्नेलगायतका आश्वासन दिने गरे पनि वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् । यस क्षेत्रका उम्मेदवारहरु यतिखेर मतदाता भेट्न घरदैलो तथा कोणसभामा व्यस्त रहेका छन् ।
नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएको आन्तरिक विवाद र जनतामाझ अपरिचित अनुहार चुनावी मैदानमा आउँदा अन्य दललाई लाभ पुग्ने देखिएको मतदाताहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको