कर्मचारीहरु सामग्री लिदै मतदान केन्द्र हिडें
बिदुर– यहि फागुन २१ गते विहीवारको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटाइएका नुवाकोटका कर्मचारीहरु मतदानका लागि आवस्यक सामग्री वुझ्दै मतदान केन्द्र जाने क्रम सुरु भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा रहेका मतदान अधिकृतको कार्यालयमार्फत आवस्यक मतदानका सामग्रीहरु सानेमवारदेखि वुझ्ने क्रम सुरु भएको हो ।
मतपत्र, मतपेटिका, छोकावार, मसी, स्वस्तिक छापालगायतका आवश्यक मतदान सामग्री मंगलवारसम्म वुझेर कर्मचारीहरु आआफ्ना मतदान केन्द्रमा पुगिसक्ने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका दुईसय ९३ वटै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री वुझेर कर्मचारी कार्यस्थल प्रवेश गरिसकेको कार्यालय पम्रुख होमवहादुर थापामगरले जानकारी दिए । नुवाकोटमा एकसय ३२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।

जसमध्ये क्षेत्र नं. १ मा ६८ मतदानस्थलमा एकसय ४४ केन्द्र र २ मा ६४ मतदानस्थलमा एकसय ४९ केन्द्र कायम छन् । केन्द्रीय कारागार नुवाकोटमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ति सवै केन्द्रहरुमा आवस्यक ४८ प्रकारका मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जाने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यको भनाई छ ।

मतदान सामग्री लिनका लागि कर्मचारीहरुलाई एक दिनको समय दिइएको थियो । मतदान केन्द्रमा निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्रीसहित कायम गरिएका केन्द्रमा खटिएका सुरक्षाकर्मी, मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । उनका अनुसार सुरक्षा घेरामा सम्बन्धित मतदान स्थलमा कर्मचारी पठाइएको हो ।

नुवाकोटमा ५२ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र २३ मतदान स्थल सामान्य भनेर वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ रेग्मीले जानकारी दिए । नुवाकोटमा आठसय ८२ स्वयंसेवकसहित एकहजार सात सय ५८ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । नुवाकोटमा नेपाल प्रहरी र सशस्त्र प्हरीतर्फ गरि एकहजार नौ सय १७ निर्वाचन प्रहरी परिचालन गरिएको छ ।
काठमाडौंसंग जोडिएको नुवाकोटमा बिदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिकामा गरी जम्मा ८८ वटा वडा रहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न एकहजार सेना परिचालित गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, धांधलपरहित, सभ्य, मर्यादित वनाउन सबै पक्षलाई सक्रियता अपनाउन नुवाकोटका मुख्य निर्वाचन अधिकारी कोमलप्रसाद आचार्यले आग्रह गरेका छन् । उनले सवै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।











































