विभिन्न स्थानमा निर्वाचन सुरक्षा अभ्यास
बिदुर– नुवाकोटमा बिभिन्न स्थानमा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ । निर्वाचन सुरक्षार्थ विभिन्न स्थानमा सुरक्षाकर्मी तथा सरोकारवालाले ‘नुवाकोट निर्वाचन सुरक्षा–२०८२’ अभ्यास गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सभ्य, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले अवस्था, क्रिया र प्रतिक्रियामा आधारित सुरक्षा अभ्यास गरेको हो ।

निर्वाचनलाई सुरक्षित वनाउन नुवाकोटमा प्रहरी, सशस्त्र प्रहरी, सेनासहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । उनीहरुले विभिन्न रुपमा गस्तीहरु ग्रिरहेका छन् । यातायात, पैदलवाट गस्ती गर्नुका साथै रात्रिकालीन गस्ती सञ्चालन गरिरहेको जनाइएको छ । नुवाकोटका अति संवेदनशील र संवेदनशील मतदान स्थलहरूमध्ये २८ वटा मतदान केन्द्रमा अवस्था, क्रिया र प्रतिक्रिया अभ्यास सञ्चालन गरिएको नेपाली सेनाको वहादुर शेर गणले जनाएको छ ।

उक्त अभ्यासमा निर्वाचनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी, मतदान अधिकृत तथा सहायक कर्मचारी सहभागी रहेका थिए ।निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विभिन्न प्रकारका सम्भावित परिस्थितिहरूमा सुरक्षा निकाय, मतदान अधिकृत, निर्वाचन अधिकृत तथा जिल्ला संयुक्त निर्वाचन नेतृत्व टिमले दिने प्रतिक्रियाको विषयमा जानकारी दिन उक्त अभ्यास गरिएको जनाइएको छ । उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी र मतदान अधिकृत÷कर्मचारीसमेत गरिएक एकहजार जना वढि सहभागी भएका थिए ।

सोही क्रममा लिखु गाउँपालिका–४ को चौघडास्थित रतनदेउ आधारभूत विद्यालय मतदान स्थलमा सुरक्षा अभ्यास गरिएको छ । सञ्चालन भएको अभ्यासको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, वहादुर शेर गणका गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, तथा सशस्त्र प्रहरी बल नेपाल १९ नं. गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा केसीलगायतले स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए ।


















































