चलचित्र संग्रहालयलाई सामग्री हस्तान्तरण
बिदुर – नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित स्थापित चलचित्र संग्रहालयका लागि विभिन्न सामग्रीहरु धमाधम उपलव्ध भइरहेका छन् । चलचित्र विकास बोर्डले स्थापना गरेको चलचित्र संग्रहालयमा उपकरणहरुका साथै पोष्टर तथा पटकथाहरु प्राप्त भइरहेको वोर्डले जनाएको छ ।

चलचित्र संग्रहालयमा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू संग्रह गरिएको छ । ति सामग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान समेत गरिएको छ । चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङ (लामा) ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन् ।

बोर्डमा आयोजित कार्यक्रममा निर्देशक तामाङले एकसय २० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई औपचारिक रूपमा हस्तान्तर गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको इतिहास, पोस्टर, पटकथा तथा महत्वपूर्ण दस्तावेजहरू संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै चलचित्र संग्रहालयले नेपाली चलचित्रको इतिहास, अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको धारणा राखे ।

सामग्री हस्तान्तरण गर्दै निर्देशक तामाङले आफूले निर्देशन गरेका ७८ वटा चलचित्रका सम्पूर्ण स्क्रिप्ट पनि क्रमशः बोर्डलाई हस्तान्तरण गर्ने जानकारी दिए । केही चलचित्रका स्क्रिप्ट हराएकाले हाल पुनः टाइप गर्न दिइएको र तयार हुनेबित्तिकै बोर्डलाई उपलब्ध गराइने उनले बताए । तामाङले नेपाली चलचित्रको इतिहास जोगाउन चलचित्र विकास बोर्डले थालेको ऐतिहासिक चलचित्र संग्रहालय निर्माण अभियानमा आफू र आफ्नो टिम सधैं सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, बोर्ड सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट तथा गणेशप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई पछिल्लो पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित दुई साता अगाडि मात्र नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको हो । उक्त संग्रहालयको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले शुभारम्भ गरेकी थिइन् ।

संग्रहालयमा चलचित्रसंग सम्वन्धि ऐतिहासिक सामग्री राख्न सुरु गरिएको छ । सङ्ग्रहालयलाई स्थापना गर्न विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्वपूर्ण योगदान दिएको वोर्डले जनाएको छ । हालसम्म चलचित्र सङ्ग्रहालयलाई सिने फोकस प्रालिका (रजत बुढाथोकी) ले रेड क्यामेरा, क्लासिक सिने युनिभर्स प्रालि (दिनेश महरा) ले सोनी क्यामेरा, वरिष्ठ चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक १० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउण्ड भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन् ।

म्यूजिक नेपाल प्रालिका प्रबन्ध निर्देशक उत्तम थापाले सय ५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क, रुपेन्द्र खड्गी ओएसआर प्रालिले चलचित्र आर्टवर्कहरू, कान्तिपुर रेडियोले ३ सय ४४ वटा चलचित्रका क्यासेट तथा अडियो सिडीहरू, पेज थ्री पत्रिकाका सम्पादक दर्शनबीर शाक्यले नेपाल भाषाका ८० चलचित्रका पोस्टर, हाईलाईट्स नेपाल प्रालिका प्रबन्ध निर्देशक जनक तामाङले २ सय २ नेपाली चलचित्रका आर्टवर्क, प्रदान गरेको वोर्डले जनाएको छ । यस्तै, आईडियल डिजाईनर्सका सुन्दरलाल श्रेष्ठले एकसय ४६ नेपाली चलचित्रका पोस्टर, वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड, लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात, वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानले आफु सम्वध्द ६३ नेपाली चलचित्रका स्क्रिप्टहरू, चलचित्रप्रेमी ् खुमराज पौडेलले ७ सय ४ वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना वोर्ड र आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा रहेको वताए । “नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,” अध्यक्ष डिसीले भने । उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको पनि वताए ।

उनले सङ्ग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको वताए । “यो सुरुआत मात्र हो, हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले प्रतिबद्धता जनाए । बोर्डले ऐतिहासिक कदम चालेको जनाउंदै चलचित्र सङ्ग्रहालयले विगतका प्रविधि, सिर्जना र दस्तावेजहरूलाई एकै स्थानमा सुरक्षित राखेर नयाँ पुस्तालाई अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको अध्यक्ष डिसीको भनाई छ ।

चलचित्र विकास बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्थाहरू तथा निजी संग्राहकहरूसँग सहकार्य गर्दै सङ्ग्रहालयलाई थप व्यवस्थित र समृद्ध बनाउने जनाएको छ । नेपाली चलचित्र उद्योगको इतिहासलाई संस्थागत रूपमा जोगाउने अभियानलाई चलचित्रकर्मीहरूले निकै खुसी व्यक्त गरेका छन् ।















































