‘एकीकृत बस्ती निर्माण प्रकृया अघि बढ्यो’

लोकखबर
१ चैत्र २०७५, शुक्रबार १९:१९

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडी बढाईसकेको समेत उनले जानकारी दिए ।

आज शुक्रबार प्रदेश ३ को प्रदेश मामिला समितिद्वारा आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृयामा समितिका सदस्यहरुको प्रश्नको जवाफ दिदै उनले एकीकृत वस्ती प्राथामिकतामा राखेपनि जग्गा प्राप्ती सबैभन्दा ठूलो समस्या रहेको बताए । अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले वनसँग जोडिएकोले जग्गा प्राप्तीमा समस्या भएको बताएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

‘वनसंग जोडिएको जग्गा पाउन निकै सकस छ । त्यसले यो काम सोचेअनुरुप अगाडी बढेको छैन ।’ उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको जानकारी दिए । दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत वस्तीको प्रकृया अगाडी बढेको उनको भनाई छ ।
अर्को प्रसंगमा उनले सार्वजनिक खरिद ऐन ‘लेन्दी’ भएको बताए । उनले भने -‘हाम्रो सार्वजनिक खरिद ऐनले एउटा टेण्डर खोल्न अहिले दिन गन्नु भयो भने ९ महिना लाग्छ ।’ कानूनले तोकेको सार्वजनिक खरिद ऐनको एउटा चरण पार गर्दा कुनैलाई २ महिना कुनैलाई ३ महिनासम्म लाग्ने उनको भनाई थियो । सार्वजनिक खरिद ऐन संशोधनको लागि संघीय सरकार पनि सकारात्मक रहेको उनले जानकारी दिए । छिटोभन्दा छिटो यसको समाधान हुनेमा मुख्यमन्त्री पौडेलले विश्वास व्यक्त गरे ।

अहिले प्रदेशको काम देखिएन भनेर आलोचना गर्ने समय नभएको उनले बताए । सरकारको बोर्ड मात्र राखेर मन्त्रालय खोलेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा आउनु उपलब्धीमुलक भएको औल्याए । कर्मचारीका अभाव अव पुर्ति हुन थालेको जानकारी दिदैं अव कामको परिणाम देखिन थालेको पनि जानकारी दिए । विभिन्न विकास निर्माणका कामहरुको टेण्डर प्रकृया भईसकेको पनि उनले बताए । उनले कुनै न कुनै हिसाबले प्रदेश सरकारको १३ वटै जिल्लामा काम भईरहेको जानकारी दिए । प्रदेशबाट विनियोजित रकमको काम भईरहेको समेत उनले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*