मलेसियामा नुवाकोटका युवाको मृत्यु
बिदुर – नुवाकोटको दक्षिणी भेगमा रहेको अर्चलेका एक युवाको मलेसियामा जयान गएको छ । बेलकोटगढी नगरपालिका–६ अर्चलेका जित मोक्तानको मलेसियामा मृत्यु भएको हो ।
मलेसियास्थित एक कम्पनीमा कार्यरत उनको काम गर्ने क्रममा मेसिनमा परेर मृत्यु भएको जानकारी दिइएको छ । मोक्तान नेपाल फर्किने तयारीमा रहेको समयमा उनको काम गर्ने क्रममा दुर्घटना भएको मलेसियामा रहेका उनका साथी बुद्धिमान तामाङको भनाई छ ।

मोक्तानले घर फर्किनका लागि टिकट समेत काटिसकेका थिए । सामान प्याक गरेर तयारी अवस्थामा रहेका बेला दुर्घटना भएको हो । मृतकका साथी तामाङका अनुसार मोक्तानका भाइ र छोरा पनि सोही कम्पनीमा कार्यरत छन् ।
उनका छोरा रातीको ड्युटी सकेर कोठामा फर्किएको र मोक्तान बिहान ड्युटी सुरु गर्ने बित्तिकै मेसिनमा परेका थिए । मोक्तानको शव कम्पनीमै राखिएको छ भने आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ ।










































