नासु अर्यालको मति बिग्रिएपछि अख्तियारको फन्दामा !

काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा रकम सहित नियन्त्रणमा लिएको छ ।
उनलाई रु६० हजार घुस लिएको आरोपमा अख्तियारले समातेको हो। वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनीविरुद्ध उजुरी परेको र उनको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ ।
नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट नियन्त्रणमा लिइएको हो ।