किसानलाई अनुदानमा हाते ट्रयाक्टर

– कृषि पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम
लोकखबर
२०८२ चैत्र १६, सोमबार २३:५९

बिदुर– नुवाकोटको पश्चिमी क्षेत्रमा रहेको तारकेश्वरमा कृषि पकेट क्षेत्र विस्तार कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत किसानहरुलाई अनुदानमा हाते ट्रयाक्टर प्रदान गरिएके छ । तारकेश्वर गाउंपालिकाले दाङसिङ नमूना कृषि बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा १७ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर हस्तान्तरण गरिएको हो ।

तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले किसानहरुलाई उक्त हाते ट्रयाक्टर हस्तान्तरण गरे । उनले यसवाट किसानहरुलाई प्रविधि, सिप र उपकरणहरुको माध्यमवाट उत्पादन वढोत्तरी हुने अपेक्षा गरे । कृषि नै गाँउको अर्थतन्त्रको मेरुदण्ड भएकोमा जोड दिँदै तालिम, परामर्श, प्रविधि र उन्नत औजारको प्रयोगबाट कृषिको आधुनिकीकरण गर्दैै कृषिलाई सहज र व्यवसायिक बनाउने अभियान गाउँपालिकाले सञ्चालन गर्दै आएको बताए ।

अध्यक्ष अधिकारीले कठोर परिश्रम र कम उत्पादनका कारण परम्परागत कृषिकर्ममा युवा पुस्ताको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले कृषिलाई परम्परागत निर्वाहमुखी पेसा मात्र नभई उत्पादनमुखी र नाफामुखी व्यवसायका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले पकेट क्षेत्रको अवधारणा अघि बढाएकोे बताए । व्यवसायिक कृषिको विकासका लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै अध्यक्ष अधिकारीले देश विदेशमा रहेका तारकेश्वरका युवाहरूलाई नयाँ योजना र अवधारणा सहित कृषि व्यवसायमा केन्द्रीत हुन आग्रह गरे ।

तारकेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम आलु बालीको नयाँ पकेट क्षेत्र विकास कार्यक्रमअन्र्तगत तारकेश्वर १ दाङसिङमा किसानहरुका लागि सन्चालित तीन दिने स्थलगत तालिमसमेत सम्पन्न भएको छ । किसानहरु सहभागी उक्त तालिमकोसमेत अध्यक्ष अधिकारीले समापन गरे ।


सर्वाधिक रुचाइएको