केन्द्रीय कारागार नुवाकोटबाट एसइई परिक्षा

४२३४ मध्ये पहिलो दिन ४४ जना अनुपस्थित
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १९, बिहीबार २३:३८

बिदुर – यस वर्ष विहीवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नुवाकोटमा कारगारवाट पनि विद्यार्थीले एसइई परिक्षा दिएका छन् । केन्द्रीय कारागार नुवाकोटको वाल सुधार केन्द्रमा रहेकामध्ये १४ जनाले एसइई दिएका हुन् । नुवाकोटमा १९ परिक्षा केन्द्रबाट कुल ४ हजार २ सय ३४ विद्यार्थीमध्ये पहिलो दिन ४४ जना परिक्षार्थी अनुपस्थित भएका छन् ।

बिदुर नगरपालिका ६ चण्डीपोखरी खम्पाक्याम्पसस्थित केन्द्रीय कारागार परिसरमा रहेको वाल सुधार गृहमा रहेका १४ जनाले पहिलो दिनको अंग्रेजी विषयको परिक्षा दिएका हुन् । उनीहरुको परिक्षाका लागि एक जना सुरक्षाकर्मी र एक जना निरीक्षकको व्यवस्था गरिएको थियो । बाल सुधार गृहमा राखिएका १४ जना नियमिततर्फका परिक्षार्थी हुन् ।

सुधार गृह स्थानान्तरण भएर आएकाहरुले परिक्षा दिएका हुन् । हाल केन्द्रीय कारागार नुवाकोटमा दुई नावालक, ४५ महिलासहित आठसय ८३ जना कैदीबन्दीहरु रहेका छन् । पहिलो दिन साधारणतर्फ तीनहजार एकसय ४२, प्राविधिकतर्फ दुईसय २५, ग्रेडवृद्धितर्फ एकसय ६२ र वाल सुधार गृहवाट १४ जनाले परिक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

 

साधारण, प्राविधिक र ग्रेडवृद्धिसमेत गरि एकहजार आठसय ९६ जना छात्राले एसइई परिक्षा दिएको कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिए । एसइइका लागि नुवाकोटवाट नियमिततर्फ ३ हजार ३ सय ९३ विद्यार्थीले फर्म भरेका थिए । जसमध्ये ३ हजार १ सय ६८ जना नियमित साधारण र २ सय २५ जना नियमित प्राविधिक धारका विद्यार्थीले परिक्षा फर्म भरेका थिए ।

ग्रेड वृद्धितर्फ भने आठसय २७ विद्यार्थीले फर्म भरेका थिए । जसमध्ये ७ सय ८९ जना साधारण र ३८ जना प्राविधिक धारका रहेका थिए । नुवाकोटमा यस वर्ष एसइइका लागि १९ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।

एसईई परीक्षा चैत १९ गते विहिवारदेखि सुरु भई चैत २९ गते आइतवारसम्म सञ्चालन हुनेछ । परीक्षा सवै दिन बिहान ८ बजेदेखि एकैसाथ सुरु गरिनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ भने त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययनलगायत विषयका परीक्षा सञ्चालन गरिनेछ ।

यस वर्ष नुवाकोटसहित देशभर कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईईमा परिक्षा दिन फर्म भरेका थिए । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षालाई शैक्षिक, मर्यादित र निष्पक्ष बनाउन बोर्डले अनुगमनलाई प्रभावकारिता वनाएको छ ।

परीक्षा हलभित्र बाह्य व्यक्तिको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ भने पत्रकारहरूलाई बाहिरी दृश्य मात्र खिच्न अनुमति दिइएको छ । प्रश्नपत्र सातै प्रदेशमा फरक–फरक तयार पारिएको छ । सुरक्षा निकायको विशेष निगरानीमा सबै जिल्लामा वितरण गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मी सहित आवश्यक जनशक्ति परिचालन गरिएको छ ।


सर्वाधिक रुचाइएको