महासंघले स्थापना गर्यो पुस्तकालय
मकवानपुर । पत्रकार महासंघ मकवानपुर शाखाले पुस्तकालय स्थापना गरेको छ । पत्रकारलाई अध्ययनमा सघाउ पुर्याउन हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि हेटौंडा उपमहानगरपालिकाले दुई लाख रुपिया आर्थिक सहयोग गरेको जनाइएको छ ।
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसका अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुस्तकालय उद्घाटन गरे ।
पत्रकारका हरेक क्षेत्रमा हेटौंडा उपमहानरपालिका कार्यालय सहयोग गर्न सधैं तयार रहेको मेयर महतले बताए । सञ्चारमाध्यम राज्यको चौथो अंगको भूमिकामा रहेकाले विभाजित नभई सत्यको पक्षमा लाग्न पत्रकारलाई आग्रह गरे । उनले कार्यालयय पत्रकारको लागि आवश्यक सहयोग आगामी दिनमा पनि गर्दै जाने बताए ।
पत्रकार महासंघ, प्रदेश ३ अध्यक्ष प्रताप विष्टले जिल्लामा बसेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेको बताए । ‘काठमाण्डौमा बसेर काम गर्ने पत्रकार र सम्पादकका समस्या नभएपनि जिल्लामा बसेर काम गर्ने पत्रकारका धेरै समस्या छन् । ’ उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताका लागि हामीहरु लागि परिरहनुपर्छ ।’
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले अझैपनि पूर्ण रुपमा प्रेश स्वतन्त्रताको अनुभुति पत्रकारले गर्न नपाएको दुःखेसो पोखे। ‘अहिले पनि पत्रकारहरु सेल्फ सेन्सरसिप गर्नुपर्ने बाध्यतामा रहेकोमा दुःख लागिरहेको छ । ’ उनले भने ।
पुस्तक सहयोग
महासंघले स्थापना गरेको पुस्तकालयका लागि नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारी, महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारीले पुस्तक सहयोग गरेका छन् ।
विष्टले एकलाख रुपिया बराबरको पुस्तक, महासंघ मकवानपुर अध्यक्ष हुमागाईंले विभिन्न ४२ वटा पुस्तक, कुमार अधिकारी र गिरिजा अधिकारीले पत्रकारितासंग सम्बन्धित विभिन्न पुस्तक सहयोग गरेका हुन् ।